तनहुँमा मोटरसाइकल दुर्घटना : २ जना घाइते, एकको अवस्था गम्भीर
तनहुँ, म्याग्दे — पृथ्वीराजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका–२ जामुनेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्, जस मध्ये एकको अवस्था गम्भीर रहेको छ।
बुधबार साँझ करिब ६:०० बजेको समयमा दमौलीबाट पोखरा तर्फ जाँदै गरेको ग ११ प ८३३२ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक कास्की पोखरा महानगरपालिका–३० निवासी ६९ वर्षीय सप्तना कँवर घाइते भएका छन्। उनको दाहिने हातको पाखुरा तथा बायाँ हातको सानो औँलामा चोट लागेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
यस्तै, मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका–३१ निवासी ६६ वर्षीय मोहन घिमिरे टाउकोमा गम्भीर चोट लागेर बोल्न नसक्ने अवस्थामा रहेका छन्। उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
दुवै घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थर्पुबाट प्रहरी नायब निरीक्षक केश बहादुर कुमालको कमाण्डमा ट्राफिकसहितको टोली खटिएको थियो। दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ ।।


























