दमौलीमा “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष महोत्सव” भोलिबाट सुरु, मेयर न्यौपानेद्वारा उद्घाटन गरिने
दमौली, तनहुँ — दमौलीमा आयोजना हुन लागेको “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष महोत्सव” भोलि अर्थात् चैत २७ गतेदेखि सुरु हुने भएको छ। व्यास नगरपालिका–४ स्थित सिमलटार–बागभञ्ज्याङ क्षेत्रमा सञ्चालन हुने उक्त दमौली सांस्कृतिक महोत्सव बैशाख ८ गतेसम्म चल्ने आयोजकले जनाएको छ।
यसअघि चैत २६ गतेदेखि सुरु गर्ने तयारी गरिएको भए पनि मौसम प्रतिकूलता र तयारी अपूर्ण रहेकाले एक दिन पछि सारिएको क्लबका अध्यक्ष विपिन घलेले जानकारी दिए। उनका अनुसार महोत्सव स्थलमा स्टल निर्माण तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगे पनि मौसमले साथ नदिँदा मिति परिवर्तन गर्नुपरेको सचिव उमेश पाैडेलले बताए ।
महोत्सवको उद्घाटन व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले गर्ने कार्यक्रम तय भएको छ।
महोत्सवलाई आकर्षक बनाउन बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई लक्षित गर्दै विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समेटिएका छन्। बालउद्यान, रोटेपिङ, डुंगा (नाउ), ड्रागन लगायतका खेल सामग्री सञ्चालन गरिनेछ।

त्यसैगरी, स्थानीयदेखि राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार तथा गायक–गायिकाको प्रस्तुति एउटै मञ्चबाट प्रस्तुत गरिने आयोजकले जनाएको छ।
महोत्सव अवधिभर सस्तो बजार समेत सञ्चालन गरिनेछ, जसले स्थानीय उत्पादनको प्रवर्द्धन र व्यापार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।


























