दमौलीमा “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष महोत्सव” आजबाट सुरु
दमौली, तनहुँ — दमौलीमा आयोजना गरिएको “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष महोत्सव” आजबाट सुरु हुने भएको छ। व्यास नगरपालिका–४ स्थित सिमलटार–बागभञ्ज्याङ क्षेत्रमा टाइगर ल्याण्ड युवा क्लवकाे आयाेजनामा सञ्चालन हुने महोत्सव बैशाख ८ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

महोत्सवको उद्घाटन व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले गर्ने कार्यक्रम तय भएको छ।
महोत्सवलाई आकर्षक बनाउन बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई लक्षित गर्दै विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समेटिएका छन्। बालउद्यान, रोटेपिङ, डुंगा (नाउ), ड्रागन लगायतका खेल सामग्री सञ्चालन गरिने क्लवका अध्यक्ष विपिन घलेले बताए ।

त्यसैगरी, स्थानीयदेखि राष्ट्रिय स्तरका चर्चित कलाकार तथा गायक–गायिकाको प्रस्तुति एउटै मञ्चबाट प्रस्तुत गरिने अध्यक्ष घलेले जानकारी दिए। महोत्सव अवधिभर सस्तो बजार समेत सञ्चालन गरिनेछ, जसले स्थानीय उत्पादनको प्रवर्द्धन र व्यापार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको क्लवका सचिव उमेश पाैडेलले बताए ।

























