दमौलीमा जारी टाइगर ल्याण्ड महोत्सवमा आज राजु परियार सहित चर्चित कलाकारकाे प्रस्तुति रहने

दमौली, तनहुँ — दमौलीमा जारी “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष महोत्सव–२०८२/०८३” अन्तर्गत आज राजु परियार लगायतका कलाकार आउने भएका छन् ।आइतबार चर्चित गायिका सम्झना लामिछानेले आफ्नो प्रस्तुति दिँदै दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेकाे कार्यक्रममा आज फेरि अर्का चर्चित गायक राजु आउने भएका हुन् ।
व्यास नगरपालिका–४ सिमलटार–बागभञ्ज्याङ क्षेत्रमा सञ्चालन भइरहेको महोत्सवमा आइतबारको कार्यक्रममा विष्णु पराजुली, आशा दरै लगायतका कलाकारहरूको समेत प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो।

महोत्सव अन्तर्गत सोमबार (चैत्र ३० गते) वरिष्ठ लोकदोहोरी गायक राजु परियार सहित गायक विश्व कुमार बुढा, सूर्य प्रसाद छिमाल, लोकदोहोरी गायक अनुराग थापा मगर तथा गायिका अञ्जना गुरुङको समेत प्रस्तुति रहनेछ। साथै, नयाँ वर्ष विशेष डान्सरहरूको आकर्षक प्रस्तुति पनि समावेश गरिने जनाइएको छ।
कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको क्लबका अध्यक्ष विपिन घलेले जानकारी दिएका छन्।
टाइगर ल्याण्ड युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको महोत्सव बैशाख ८ गतेसम्म जारी रहनेछ। महोत्सवमा बालउद्यान, रोटेपिङ तथा ड्रागन खेलजस्ता मनोरञ्जनात्मक गतिविधिहरूका साथै सस्तो बजार पनि सञ्चालनमा रहेको छ।

महोत्सवले स्थानीय कला, संस्कृति तथा उत्पादनको प्रवर्द्धन गर्दै आन्तरिक पर्यटन र स्थानीय व्यापार व्यवसायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको क्लवका सचिव उमेश पाैडेलले बताए ।

























