लमजुङ दुधपोखरी गाउँपालिकामा विकास कामको विवरण सार्वजनिक गर्न गिरीकाे माग
लमजुङ ।
लमजुङको दुधपोखरी गाउँपालिकामा हालसम्म सम्पन्न भएका विकास निर्माणका कामहरूको बारेमा जनतालाई स्पष्ट र पारदर्शी जानकारी दिनुपर्ने माग उठाइएको छ।
स्थानीय सुरेश गिरीले एक सार्वजनिक भनाइमार्फत वडा नं. १ देखि ६ सम्मका वडाध्यक्षहरूले हालसम्म गरेका काम, सम्पन्न योजनाहरू तथा जनताले प्राप्त गरेका सेवासुविधाबारे प्रत्यक्ष रूपमा विवरण सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले विकास निर्माणका काममा पारदर्शिता अनिवार्य हुनुपर्ने उल्लेख गर्दै व्यक्तिगत प्रचारभन्दा पनि वास्तविक उपलब्धिलाई जनतासमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन्।
“हामीले धेरै गर्यौं” भन्ने दाबी मात्र नभई के–के काम सम्पन्न भए भन्ने कुरा प्रमाणसहित सार्वजनिक हुनुपर्ने उनको भनाइ छ। जनताले अनुभूति गर्ने विकास नै वास्तविक विकास हुने उनले बताए।
गिरीका अनुसार आजको समयमा जनता सचेत भइसकेकाले केवल भाषण वा प्रचारमा होइन, परिणाम र कार्यान्वयनमा आधारित जवाफदेहिता आवश्यक छ।

यदि साँच्चै जनताको सेवा गर्ने उद्देश्य हो भने, पहिले आफ्ना कामहरूको स्पष्ट विवरण सार्वजनिक गर्नुपर्ने र त्यसपछि मात्र अन्य दाबीहरू गर्नु उपयुक्त हुने उनले बताए ।


























