चर्को कर घटाउन माग गर्दै कांग्रेसले बुझायो शुक्लागण्डकी नगरलाई १० बुँदे ध्यानाकर्षण

चर्को कर घटाउन माग गर्दै कांग्रेसले बुझायो शुक्लागण्डकी नगरलाई १० बुँदे ध्यानाकर्षण

दमौली, तनहुँ — चर्को भूमि कर र सेवा प्रवाहप्रति असन्तुष्टि बढिरहेका बेला नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. २ ले शुक्लागण्डकी नगरपालिकालाई १० बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।
सोमबार नगरपालिकाको कार्यालयमा पुगेर क्षेत्रीय सभापति चुडामणि खनाल, सचिव सन्तोष घिमिरे, महासमिति सदस्य तथा निवर्तमान नगर प्रमुख किसान गुरुङलगायतको टोलीले नगर प्रमुख कृष्णराज पण्डितलाई ध्यानाकर्षणपत्र बुझाएको हो।
ध्यानाकर्षणपत्रमा नगरपालिकाले निर्धारण गरेको भारी भूमि कर घटाई जनमुखी कर प्रणाली लागू गर्न माग गरिएको छ। साथै सामुदायिक विद्यालयका शिक्षकलाई मासिक रूपमा तलब उपलब्ध गराउने व्यवस्था मिलाउन र बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जेब्रा क्रसिङ तथा आकाशे पुल निर्माणमा सम्बन्धित निकायसँग पहल गर्न आग्रह गरिएको छ।
त्यस्तै, क्रसर उद्योगलाई सरकारले तोकेको मापदण्डअनुसार सञ्चालन गर्न, विकास निर्माणका काम निर्धारित समयमै सम्पन्न गर्न र असहाय तथा विपन्न विद्यार्थीका लागि निःशुल्क आवासीय विद्यालय स्थापना गर्नुपर्ने माग पनि पत्रमा उल्लेख छ।
अपाङ्ग, असहाय तथा अति विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न, शुक्लागण्डकी–८ को चिस्यान केन्द्र र वडा नं. ५ मा रहेको कृषि उपज संकलन केन्द्र सञ्चालनमा ल्याउनुपर्नेमा समेत जोड दिइएको छ।
गर्मी याम सुरु भएसँगै बजार क्षेत्रका नालीमा फोहोर जम्दा रोग फैलिने जोखिम बढ्ने भएकाले नाला सफाइमा विशेष ध्यान दिन नगरपालिकालाई आग्रह गरिएको छ। साथै नगरसभाबाट स्वीकृत ऐन तथा कार्यविधिलाई जनतामुखी ढंगले कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ।
निवर्तमान नगर प्रमुख किसान गुरुङले आफूले सुरु गरेका केही योजना हालसम्म पनि अधूरा रहेको भन्दै ती कार्यलाई अघि बढाउन ध्यानाकर्षण गराए।

ध्यानाकर्षणपत्र बुझ्दै नगर प्रमुख कृष्णराज पण्डितले नगरको विकासमा आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै बेलचौतारास्थित कृषि उपज संकलन केन्द्र सञ्चालन अन्तिम चरणमा पुगेको जानकारी दिए। ढोरफिर्दीको चिस्यान केन्द्र सञ्चालनमा केही समस्या रहेको उनले बताए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page