कौराहा सम्मेलनका लागि युकेबाट ८ लाख बढी संकलन, अनिता रानामगरको अग्रसरता

कौराहा सम्मेलनका लागि युकेबाट ८ लाख बढी संकलन, अनिता रानामगरको अग्रसरता


तनहुँ — तनहुँको ऋषिङ गाउँपालिका–झापुटारमा हुने दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलनका लागि युकेबाट ८ लाखभन्दा बढी आर्थिक सहयोग संकलन गरिएको छ। नेपाल मगर सांस्कृतिक संघको आयोजनामा यही वैशाख ४ र ५ गते हुने सम्मेलनका लागि युकेमा मात्र ८ लाख १० हजार रुपैयाँ संकलन भएको हो।
उक्त रकम मगर संघ युकेका पूर्व उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा सम्मेलन युके संयोजक अनिता रानामगरको पहलमा संकलन गरिएको हो। नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिले उनलाई युके संयोजकको जिम्मेवारी दिएको थियो।
कौराहा नृत्य मगर समुदायको इतिहास र सभ्यतासँग जोडिएको महत्वपूर्ण मौलिक संस्कृति भएकाले यसको संरक्षणका लागि अभियानस्वरूप आर्थिक सहयोग जुटाइएको संयोजक रानामगरले बताइन्। सामाजिक सञ्जाल र टेलिफोनमार्फत सहयोगको अपिल गरेपछि उत्साहजनक साथ प्राप्त भएको उनको भनाइ छ।
“मौलिक संस्कृति भनेपछि युकेमा रहेका नेपालीहरू निकै भावुक हुन्छन्,” उनले भनिन्, “कौराहा नाँच जोगाउन सबैले साथ दिनुभयो, त्यसैले ठूलो रकम संकलन गर्न सफल भयौं।” उनले संकलित रकम सम्मेलनका क्रममा चेकमार्फत हस्तान्तरण गरिने जानकारी दिइन्।


को हुन् अनिता रानामगर?
अनिता रानामगर तनहुँको भानु नगरपालिका–रानागाउँकी स्थायी बासिन्दा हुन्। उनी महिला सशक्तीकरण, समाज रूपान्तरण तथा भाषा–संस्कृति संरक्षणका क्षेत्रमा सक्रिय अभियन्ता हुन्। लामो समयदेखि मगर संघ युकेमा आवद्ध रहँदै उनले समुदायको हक–अधिकार र मौलिक संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान दिँदै आएकी छन्।
कौराहा नृत्यप्रति विशेष लगाव राख्ने उनले आफ्नो परिवारलाई समेत यस अभियानमा जोडाएकी छन्। श्रीमान् कुमार राना मगर, छोरीहरू सम्झना र सविता रानामगरसँगै युकेमा विभिन्न कार्यक्रममा कौराहा प्रस्तुत गर्दै आएका छन्।
तनहुँ समाज युकेदेखि विभिन्न नेपाली मेलासम्म मौलिक कौराहा प्रस्तुत गरेर उनले मगर समुदाय र तनहुँ जिल्लाको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन भूमिका खेलेकी छन्। यही योगदानका कारण उनलाई युकेमा “कौराहा बहिनी” भनेर चिनिन थालिएको छ।
संस्कृति संरक्षणसँगै उनी व्यवसायिक क्षेत्रमा पनि सक्रिय छिन्। युकेमा आर्जन गरेको आम्दानी नेपालमा लगानी गर्दै पर्यटन क्षेत्रको विकासमा योगदान पुर्‍याइरहेकी छन्। उनी लाकुरी भञ्ज्याङ रिसोर्ट प्रालिकी अध्यक्षसमेत हुन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page