देवघाटमा लागुऔषध र अवैध सामग्रीसहित एक जना पक्राउ
तनहुँ — इलाका प्रहरी कार्यालय देवघाट तनहुँले लागुऔषध तथा विभिन्न अवैध सामग्रीसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
प्राप्त जानकारी अनुसार मिति २०८३ बैशाख ११ गते बिहान करिब ७:३० बजे देवघाट गाउँपालिका–५ सेतीभतेरी टोल निवासी ३६ वर्षीय रोहित भन्ने कृष्ण तामाङको घरमा विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो। घर, पूजा कोठा तथा सुत्ने कोठालगायतका स्थानमा गरिएको चेकजाँचका क्रममा प्रहरीले विभिन्न लागुऔषध तथा शंकास्पद सामग्री बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार ट्रामाडोल २४८ क्याप्सुल, गाँजा करिब २०० ग्राम, Vomine २५ पत्ता (२५० क्याप्सुल) लगायतका औषधिजन्य लागुऔषध फेला परेको छ। त्यसैगरी जरायोको सिङ्ग जस्तो देखिने २ थान, गैडाको छाला जस्तो देखिने सानो टुक्रा, पञ्चमुखे शंख, खुकुरी, चक्कु तथा अन्य विभिन्न सामग्री समेत बरामद गरिएको छ।
पक्राउ परेका तामाङलाई बरामद सामग्रीसहित इलाका प्रहरी कार्यालय आबुँखैरेनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


























