तनहुँमा ८३ कुकुरको बन्ध्याकरण, छाडा व्यवस्थापनमा प्रभावकारी पहल

तनहुँ, वैशाख १७ — जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको आयोजनामा वैशाख १६ र १७ गते सञ्चालन गरिएको दुई दिने बन्ध्याकरण शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमार्फत जिल्लामा बढ्दो छाडा कुकुरको समस्या नियन्त्रण तथा जनस्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।
शिविरमा जम्मा ८३ वटा कुकुरको बन्ध्याकरण गरिएको छ। तीमध्ये ४५ वटा घरपालुवा र ३८ वटा छाडा कुकुर रहेका छन्। बन्ध्याकरण गरिएका कुकुरमध्ये २६ वटा भाले र ५७ वटा पोथी रहेको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख रविनसन अधिकारीका अनुसार छाडा कुकुरको अनियन्त्रित प्रजननका कारण शहरी तथा ग्रामीण क्षेत्रमा समस्या बढ्दै गएकाले यस्तो शिविर प्रभावकारी सावित भएको छ। उनले यस्ता कार्यक्रमले कुकुरको संख्या नियन्त्रण गर्नुका साथै रेबिजजस्ता रोगको जोखिम न्यूनीकरण गर्न मद्दत पुग्ने बताए।
शिविरका क्रममा पशु चिकित्सक तथा प्राविधिक टोलीले कुकुरहरूको स्वास्थ्य परीक्षण, आवश्यक उपचार तथा बन्ध्याकरण सेवा प्रदान गरेको थियो। साथै, कुकुरप्रति जिम्मेवार व्यवहार अपनाउन र घरपालुवा जनावरको उचित हेरचाह गर्न सम्बन्धित धनीहरूलाई सचेतना समेत दिइएको थियो।
स्थानीयवासीले पनि यस्तो कार्यक्रमलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा समेत निरन्तर सञ्चालन गर्न माग गरेका छन्। शिविरले समुदायमा जनचेतना अभिवृद्धि गर्नुका साथै छाडा कुकुर व्यवस्थापनमा दीर्घकालीन समाधानको आधार तयार गरेको सहभागीहरूको भनाइ छ।

जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


























