मगर संघको केन्द्रीय महासचिवमा तनहुँका सिद्धान्त गर्जा मगरको दाबी

मगर संघको केन्द्रीय महासचिवमा तनहुँका सिद्धान्त गर्जा मगरको दाबी


तनहुँ — नेपाल मगर संघ को १३औँ राष्ट्रिय महाधिवेशन आगामी जेठ ८ गतेदेखि १० गतेसम्म (मे २२–२४, २०२६) काठमाडौं मा हुने तय भएको छ। महाधिवेशन नजिकिँदै गर्दा तनहुँका सिद्धान्त गर्जा मगरले केन्द्रीय महासचिव पदमा उम्मेदवारी दाबी गर्दै आफ्नो अभियान तीव्र बनाएका छन्।
मगर संघ तनहुँका पूर्व अध्यक्ष, गण्डकी प्रदेशका संस्थापक अध्यक्ष, आदिवासी जनजाति महासंघ का वरिष्ठ उपाध्यक्ष तथा युवा महासंघका पूर्व केन्द्रीय उपमहासचिव समेत रहेका गर्जा मगर लामो समयदेखि विभिन्न संघसंस्थामा सक्रिय रहँदै आएका अनुभवी र प्रखर वक्ताका रूपमा चिनिन्छन्।
उनले मगर समुदायको ठूलो जनसंख्या र त्यसको प्रतिनिधित्वलाई आफ्नो दाबीको मुख्य आधार बनाएका छन्। “लुम्बिनी प्रदेशमा मात्र करिब साढे सात लाख मगरको उपस्थिति छ भने गण्डकी प्रदेशमा मगर समुदाय दोस्रो ठूलो जनसंख्या (करिब २२.५ प्रतिशत) मा रहेको छ,” उनले बताए।
पहिचान, अधिकार र मगरात स्वायत्तताको मुद्दालाई जीवित राख्दै नयाँ ढंगले अघि बढाउने लक्ष्यसहित आफू महासचिव पदमा अघि बढेको उनको भनाइ छ। “यति ठूलो संख्यामा रहेका मगरहरूलाई संगठित, सचेत र समृद्ध बनाउने उद्देश्यले उम्मेदवारी दिएको हुँ,” उनले भने।
हाल उनी महाधिवेशन केन्द्रित जिल्लाव्यापी दौडाहामा सक्रिय छन्। आगामी दिनमा मगर समुदायलाई देशभर कसरी अझ प्रभावकारी रूपमा विस्तार गर्ने भन्ने रणनीतिसहित आफू अघि बढिरहेको उनले बताएका छन्।

महाधिवेशन नजिकिँदै जाँदा विभिन्न पदका आकांक्षीहरू सक्रिय बन्दै गएकाले प्रतिस्पर्धा पनि तीव्र हुँदै गएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page