आइतबार बिदा विवादबीच व्यासको नयाँ निर्णय: सहमति नजुट्दा ६ दिन कक्षा सञ्चालन कायम

आइतबार बिदा विवादबीच व्यासको नयाँ निर्णय: सहमति नजुट्दा ६ दिन कक्षा सञ्चालन कायम

व्यास नगरपालिका ले आइतबार बिदा र विद्यालय सञ्चालन सम्बन्धी विवादबीच नयाँ प्रेस विज्ञप्ति जारी गरेको छ। यसअघि आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको भए पनि त्यसविरुद्ध विभिन्न पक्षबाट विरोध भएपछि विषय थप जटिल बनेको थियो।
नगरपालिकाले सुरुमा नियमित पठनपाठनलाई निरन्तरता दिन आइतबार पनि कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। तर शिक्षक सङ्घ–संगठनले सरकारी बिदा हुँदा आफूहरूले पनि बिदा पाउनुपर्ने अडान राखेपछि विवाद चर्किएको थियो। नगरपालिका भने यस विषयमा तत्काल सहमत हुन तयार देखिएको थिएन। यसैबीच “नगरपालिकामा बिदा तर विद्यालय खुल्ने” भन्ने दोहोरो अवस्था सिर्जना हुँदा अभिभावक, शिक्षक र विद्यार्थीबीच अन्योल बढेको थियो।
विवाद समाधानका लागि सरोकारवालाबीच पटक–पटक छलफल भए पनि ठोस सहमति जुट्न सकेन। अन्ततः छलफल निष्कर्षविहीन बनेको थियो। यही परिस्थितिमा नगरपालिकाले नयाँ निर्णयसहित प्रेस विज्ञप्ति सार्वजनिक गरेको हो।
विज्ञप्तिअनुसार, संघीय सरकारबाट स्पष्ट निर्णय नआएसम्म हाललाई विद्यालयहरूमा सातामा ६ दिन कक्षा सञ्चालन गर्ने व्यवस्था कायम राख्न अनुरोध गरिएको छ। आइतबार बिदा सम्बन्धी अन्तिम निर्णय भने आगामी कार्यपालिका बैठकबाट हुने जनाइएको छ।
त्यस्तै, नगरपालिकाले अन्य केही विषयहरू पनि उठाएको छ। दैनिक रूपमा संकलन हुने फोहोर व्यवस्थापनमा समस्या देखिएको भन्दै अस्थायी व्यवस्थापनका लागि स्थानीयलाई सहकार्य गर्न आग्रह गरिएको छ। साथै, दमौली बजार क्षेत्रमा पार्किङ व्यवस्थापन अस्तव्यस्त भएको भन्दै सम्बन्धित निकायसँग समन्वय गरी सुधारका लागि पहल भइरहेको जनाएको छ।


नगरप्रमुख वैकुण्ठ न्यौपानेद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिले हाल देखिएको अन्योल अन्त्य गर्न अस्थायी व्यवस्था गरिएको स्पष्ट पारेको छ। तर आइतबार बिदाको विषयमा अन्तिम टुंगो अझै लाग्न बाँकी रहेकाले अभिभावक र शिक्षकबीचको अन्योल पूर्ण रूपमा हट्न भने सकेको छैन।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page