विद्यार्थीदेखि विपन्न परिवारसम्म, वडा सदस्य भण्डारीको निरन्तर सामाजिक सहयोग

विद्यार्थीदेखि विपन्न परिवारसम्म, वडा सदस्य भण्डारीको निरन्तर सामाजिक सहयोग

तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित जनगणपति माध्यमिक विद्यालय मा अध्ययनरत कक्षा ८ का विद्यार्थी प्रिन्स थापालाई व्यासका जनप्रतिनिधि एवं युवा समाजसेवी सरोज भण्डारी ले पुनः आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ।
सामान्य आर्थिक अवस्था रहेको परिवारका कारण पठनपाठनमा समस्या हुँदै आएको जानकारी पाएपछि वडा सदस्य भण्डारीले विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै निरन्तर सहयोग गर्दै आउनुभएको हो। उहाँले प्रिन्सको उज्ज्वल भविष्य निर्माणका लागि आफू सधैं साथ रहने बताउँदै अध्ययन पूरा गरेपछि रोजगारीको अवसरसमेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
वडा सदस्य भण्डारीले आफूले राज्यबाट प्राप्त गर्ने सेवासुविधा तथा भत्ताबाट आएको रकम व्यक्तिगत रूपमा प्रयोग नगरी सामाजिक तथा मानवीय कार्यमा खर्च गर्दै आएको बताउनुभयो। समाजका विभिन्न क्षेत्रमा सहयोग गर्नु आफ्नो प्राथमिकता रहेको उहाँको भनाइ छ।
भण्डारीले यसअघि पनि म्याग्दे गाउँपालिका को पाणेथोककी ३ वर्षीया बालिकालाई खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गर्नुभएको थियो। साथै उहाँले व्यास नगरपालिकाका विभिन्न विद्यालय तथा समाजका विपन्न समुदायलाई आर्थिक सहयोग, लत्ताकपडा वितरण तथा अन्य मानवीय सहयोगका कार्यक्रम सञ्चालन गर्दै आइरहनुभएको छ।
यसैबीच, विद्यार्थीका अभिभावकले सहयोग प्राप्त भएपछि खुसी व्यक्त गर्दै न्यून आर्थिक अवस्था भएको परिवारलाई यसरी सहयोग पुर्याउँदा ठूलो राहत र हौसला मिलेको बताएका छन्। यस्तो सहयोगले छोराको पढाइलाई निरन्तरता दिन सहज भएको उनीहरूको भनाइ छ।

विद्यालय परिवारले पनि भण्डारीको सामाजिक योगदानको प्रशंसा गर्दै शिक्षा तथा सामाजिक क्षेत्रमा उहाँले देखाएको सहयोगी भावनाले अन्य व्यक्तिलाई समेत प्रेरणा दिने विश्वास व्यक्त गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page