ग्रीन डेभलपमेन्ट बैंकद्वारा जिल्ला प्रहरी कार्यालयलाई स्मार्ट टिभी सहयोग
तनहुँको दमौलीस्थित ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय तनहुँ दमौलीलाई ४३ इन्चको स्मार्ट टेलिभिजन सहयोग गरेको छ। बैंकले हिरासत कक्षमा रहेका व्यक्तिहरूलाई समाचार तथा अन्य कार्यक्रममार्फत समय उपयोग गर्न सहज होस् भन्ने उद्देश्यले उक्त स्मार्ट टिभी हस्तान्तरण गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी, सहायक महाप्रबन्धक संयुक्त बहादुर धाख्वा तथा दमौली शाखा प्रमुख सुदिप न्यौपाने ले संयुक्त रूपमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख टेकबहादुर कार्की लाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बुढाथोकीले आगामी दिनमा पनि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। जिल्ला प्रहरी प्रमुख कार्कीले उक्त स्मार्ट टेलिभिजनले हिरासत कक्षमा रहेका व्यक्तिहरूलाई समाचार तथा अन्य कार्यक्रम हेर्न सहज हुने बताउँदै बैंकप्रति धन्यवाद व्यक्त गरे।


























