म्याग्दे–६ गुरुङ समाज ‘द नाइन्टिज’ भलिबलको च्याम्पियन, छोटो समयमै बरबोटे साँगेलाई चिनायो प्रतियोगिताले

दमौली । व्यास नगरपालिका–५ बरबोटे साँगेमा आयोजित खुल्ला वडा स्तरीय प्रथम ‘द नाइन्टिज’ पुरुष भलिबल प्रतियोगिताको उपाधि म्याग्दे–६ गुरुङ समाजले जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा व्यास–१३ बेनिकोेटलाई लगातार दुई सेटमा पराजित गर्दै गुरुङ समाज च्याम्पियन बनेको हो।
प्रतिस्पर्धात्मक फाइनलमा बेनिकोेट उपविजेता हुँदा भिमाद तृतीय भएको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः नगद रु. ३३ हजार ३३३, रु. २२ हजार २२२ र रु. ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
हालै मात्रै दर्ता भएको ‘द नाइन्टिज’ युवा क्लबले आयोजना गरेको प्रतियोगितामा तनहुँसहित नवलपुर, कास्की र लमजुङका गरी ३२ टोली सहभागी भएका थिए। शुक्रबारबाट सुरु भएको प्रतियोगितामा सयौं दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो।
छोटो समयमै नयाँ क्लबले यति ठूलो प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको भन्दै स्थानीयले प्रशंसा गरेका छन्। खेलकुदमार्फत गाउँलाई जोड्ने र चिनाउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताले बरबोटे साँगेलाई जिल्लाबाहिरसम्म परिचित गराएको स्थानीय बरबाेटे टाेलका पुर्व अध्यक्ष गंगा बहादुर रानाले बताए ।
क्लबका अध्यक्ष एककुमार श्रेष्ठका अनुसार प्रतियोगिताले खेलकुद प्रवर्द्धनसँगै गाउँमा आपसी सद्भाव, युवा एकता र उत्साह थपेको छ। प्रतियोगिताको प्रथम पुरस्कार व्यास–५ बरबोटेका हाल दक्षिण कोरियामा रहेका आनन्द लामिछानेले, दोस्रो पुरस्कार केम्यान आइल्यान्ड्समा रहेका अमृत गैरेले र तृतीय पुरस्कार साउदी अरेबियामा रहेका आशिक श्रेष्ठले प्रायोजन गरेका थिए।

नवगठित क्लबको सक्रियतामा सम्पन्न प्रतियोगिताले बरबोटे साँगेलाई खेलकुदमय बनाउनुका साथै स्थानीय पहिचानलाई थप मजबुत बनाएको छ।


























