भिमादमा ६८ करोड भलिबल कप–२०८३ क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता जारी

भिमादमा ६८ करोड भलिबल कप–२०८३ क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता जारी

भिम

भिमाद, तनहुँ, असार १७। पिरुङ्ग स्पोर्ट्स क्लबको आयोजना तथा टिम ६८ करोडको सहआयोजनामा ६८ करोड कप–२०८३ क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता हिजोदेखि भिमादमा सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन हरिनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मानन्धरले खेलकुदले युवामा अनुशासन, नेतृत्व क्षमता र सामाजिक एकताको भावना विकास गर्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले स्थानीय खेलकुदको विकास र प्रतिभावान खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा तनहुँ भलिबल, स्याङ्जा भलिबल, शाही फलफूल स्याङ्जा, पिरुङ्ग स्पोर्ट्स क्लब भिमाद, वालिङ भलिबल क्लब र हाई भिजन ल्याण्ड लगायतका टोलीको सहभागिता रहेको छ। प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ।
उद्घाटनपछि भएको पहिलो खेलमा आयोजक पिरुङ्ग स्पोर्ट्स क्लब भिमाद र स्याङ्जा भलिबलबीच प्रतिस्पर्धा भएको थियो।
प्रतियोगिताको विजेताले रु. १ लाख ११ हजार ६८, उपविजेताले रु. ७७ हजार ६८, तृतीय हुने टोलीले रु. ४४ हजार ६८ तथा सान्त्वना हुने टोलीले रु. २२ हजार ६८ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई रु. ५ हजार ६८ तथा उत्कृष्ट ब्लकर, स्पाइकर, सेटर, उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही रु. ३ हजार ६८ नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ। गण्डकी प्रदेशका चर्चित सेटर तथा पिरुङ्ग स्पोर्ट्स क्लबका अध्यक्ष विवश आलेको उपनामबाट प्रतियोगिताको नाम ‘६८ करोड कप’ राखिएको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page