सम्पूर्ण सम्पत्ति पीडितलाई दिन्छु :फरार मेयर देव कुमार नेपाली

२३ माघ, २०८०

सहकारी बन्द गरेर ९ महिनादेखि सम्पर्कविहिन रहेका इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका संस्थापक अध्यक्ष एवम् ढाेरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले आफुहरुसंग भएको सम्पूर्ण सम्पत्ती पीडितहरुलाई हस्तान्तरण गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । नेपालीले माघ १९ गतेको मितिमा एक अपिल सार्वजनिक गर्दै आफु र आफ्नो श्रीमतिका नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ती सहकारीको नाममा गरिदिने प्रतिवद्धता जनाएका हुन् ।

सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्न नसकेपछि ०८० जेठ ५ गतेदेखि सम्पर्क विहिन भएका नेपालीले यस भन्दा पहिला मंसिर ५ गते सामाजिक सञ्जालमार्फत पीडितहरुको बचत फिर्ता गर्न आफु छिटै सार्वजनिक हुने बताएका थिए । नेपाली सहित इमेज सहकारीका जिम्मेवार व्यक्तिहरु सम्पर्क विहिन भएपछि बागलुङ, गलकोट, बुर्तिबाङ र पोखरामा छुट्टा छुट्टै इमेज बचत पीडित संघर्ष समिति गठन गरी पीडित बचतकर्ताहरुले आफनो रकम फिर्ताका लागि इमेज बचत तथा ऋण सहकारीलाई ब्यूताउने भन्दै बागलुङमा माघ ६ गते र पोखरामा माघ १० गते विशेष साधारणसभा गरी नयाँ सञ्चालक समिति समेत गठन गरेका छन् ।

पीडितहरुको आन्दोलनसंगै राज्यका विभिन्न निकाय, जनप्रतिनिधिहरु, सहकारी अभियान लगायत विभिन्न सरोकारवालाहरुसंगको सहकार्यमा पीडितहरुलाई न्याय दिन सहकारी पुन सञ्चालन गर्ने अभियान अगाडि बढेपछि देव कुमार नेपालीले आफ्नो सम्पूर्ण सम्पत्ती पीडितहरुलाई हस्तान्तरण गर्न प्रतिवद्ध रहेको बताउदै आएका छन् ।

पछिलो पटक सार्वजनिक गरिएको प्रतिवद्धता अनुसार नेपालीले आफु र आफ्नो नाममा रहेको घर जग्गाहरु सहकारीका बचतकर्ताहरुले जम्मा गरेको रकम, बैंकको ऋण र आफ्नो निजी सम्पत्ती समेतबाट खरिद गरेको जनाएका छन् । यस भन्दा पहिला फेसबुक मार्फत दिएको सन्देशमा पनि उनले सहकारीको बचतबाट निजी सम्पत्ती आर्जन गरेको कुरा गलत भएको बताएका थिए ।

सहकारीको बचत कहाँ गयो ? हामीले धेरै पटक प्रश्न गरेका थियौ, बचतकर्ताले जम्मा गरेको करिव २ अर्ब रकमबाट आर्जित भएको सम्पत्तीलाई सहकारीबाट आर्जन गरेको होइन, हामीले हाम्रो सम्पत्तीबाट खरिद गरेका हौ भन्दा अविश्वास सिर्जना भएको थियो, इमेज बचत पीडित संघर्ष समिति बागलुङका संयोजक डिल बहादुर कार्कीले भनेका छन् –यस पटक उहाँले सहकारीका बचतकर्ताको रकमबाट घरजग्गा खरिद गरेको स्वीकार गर्नु भएको छ ।

नेपालीले आफु र आफ्नो नाममा रहेको सम्पूर्ण सम्पत्ती सहकारीका पीडितहरुलाई हस्तान्तरण गर्न तयार रहेको भन्दै सहज वातावरण सिर्जना गरिदिन सबै सरोकारवालाहरुसंग आग्रह गरेका छन् ।

हामी पनि समस्याको समाधान गर्न चाहन्छौ , हाम्रो नियतका कारण होइन, वित्तीय क्षेत्रमा आएको संकटका कारण सहकारीमा समस्या आएको हो ।नेपालीले भनेका छन् । सहकारीमा आएको समस्याका कारण हाम्रो नियतमा समेत शंका उत्पन्न भएको छ । सहकारीमा बचत गरेका सदस्यहरुको बचत रकम फिर्ता गर्ने कुरामा आज पनि हामी उत्तिकै प्रतिवद्ध छौ, संवेदनशिल छौ ।

६ महिनाभित्रमा सबै समस्या समाधान गर्न सक्छौ भन्ने सोचेर काम गरेका थियौ तर समय र परिस्थिति हाम्रो अनुकुल हुन सकेन । अहिलेको परिस्थिति हाम्रो नियन्त्रणमा छैन । पीडित सदस्य बचतकर्ताहरु, सहकारी विभाग र सहकारी रजिष्ट्रार कार्यालय, प्रहरी प्रशासन र अदालत समेत यो विषयसंग प्रत्यक्ष जोडिएको अवस्था छ । यस्तो अवस्थामा समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा सबैले गंभिरताका साथ मनन गर्नु हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौ, नेपालीले जारी गरेको सन्देशमा उल्लेख गरिएको छ ।

बचत फिर्ता गर्ने नगद रकम छैन, विगतमा हामीले सहकारी सञ्चालन गर्दा हाम्रो केही निजी रकम र सहकारीका शेयर सदस्य बचतकर्ताले जम्मा गरेको बचत तथा बैंकहरुबाट समेत ऋण लिएर स्थिर सम्पत्ती जोडेका छौ, म र मेरो श्रीमती छेला नेपालीको नाममा रहेका सम्पूर्ण घरजग्गा सहकारी पीडितहरुलाई हस्तान्तरण गर्न कसरी सकिन्छ भन्दै नेपालीले सहयोगका लागि अपिल गरेका छन् ।

घरजग्गाहरु विक्री गरी बैंकको ऋण र सदस्य बचतकर्ताहरुको बचत फिर्ता गर्ने कुरामा आफुहरुलाई सहयोग गर्नका लागि पीडित शेयर सदस्य बचतकर्ताहरु, सहकारी विभाग, सहकारी रजिष्ट्रारको कार्यालय पोखरा, गण्डकी प्रदेश सरकार, सम्पूर्ण स्थानीय तहहरु, जिल्ला प्रशासन कार्यालय बागलुङ, जिल्ला प्रहरी कार्यालय बागलुङ, अदालत, राजनीतिक दलहरु, नागरिक समाज, सहकारी अभियानकर्मी, सञ्चारकर्मीहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक अपिल गर्दछौ, नेपालीले जारी गरेको अपिलमा उल्लेख छ ।
सहकारीको समस्या समाधानसंगै ढोरपाटन नगरपालिकामा उपस्थित भई सेवामा सक्रिय रहने प्रतिवद्धता समेत नेपालीले जनाएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page