राँगोले हानेर धनञ्जय आचार्यकाे मृत्यु
पोखराका ३७ वर्षे धनञ्जय आचार्यको राँगाले हानेर मृत्यु भएको छ । पोखरा महानगरपालिका ३३ स्थायी घर भएका आचार्यको आफ्नै माइला दाजुको सुरौदीस्थित भैंसी फारममा पालो दिन गएका बेला राँगोको आक्रमणमा परी मृत्यु भएको हो । धनञ्जयका जेठा दाजु शिव आचार्य पोखरा ३३ का वडाध्यक्ष हुन् ।माइला दाजु आफ्ना जेठानको निधन भएकाले अन्त्येष्ठिमा जानुपर्ने भएकाले गोठको रखबारी गर्न मंगलबार धनञ्जय गएका थिए । स्कुल बिदा भएको भन्दै धनञ्जय आफैले गोठमा जान रहर गरेको आफन्तहरु बताउँछन् । धनञ्जय पोखराको बिरौटामा बस्थे । पोखरा ३३ कै जनचेतना माविका स्थायी शिक्षक उनी बिहान पोखराकै सिर्जना बोर्डिङ स्कुलमा पढाउँथे ।

राँगोले लखेटेपछि झाडीमा लुकेको भन्दै उनले मंगलबार दिउँसो ४ बजे पत्नीलाई फोन गरेका थिए । ५ बजेपछि उनीसँग फोन सम्पर्क भएको थिएन । राति अबेलासम्म गोठमा नफर्केपछि धनञ्जयको खोजी थालिएको थियो । राति १० बजेतिर पोखराबाट दाजुहरु सुरौदी पुगेका थिए । रातभर खोज्दा पनि नभेटिएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।
धनञ्जयको शव गोठभन्दा करिब डेढ घन्टा परको पैदल दुरीमा क्षतिविक्षत अवस्थामा भेटिएको थियो । माथिल्लो गरामा मोबाइल फोन, त्यो भन्दा तल कोट र तलतिर उनको शव भेटिएको थियो । उनको शव भेटिएको स्थान स्याङ्जामा पर्छ । सुरौदी खोलाले कास्की र स्याङ्जाको सिमाना छुट्याएको छ ।

उनका आफन्तले डाँडाको नाक प्रहरी चौकीलाई खटनाको बारेमा जानकारी गराएर त्यहि अनुसार प्रहरी पुगेको थियो । तर घटनास्थल स्याङ्जामा भएका कारण जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोली आएर घटनाको विवरण लिनुका साथै मुचुल्का बनाएको थियो ।
घटनास्थलको प्रकृति हेर्दा भवितव्य नभएर दुर्घटना अर्थात् राँगोको आक्रमण नै भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी हरि पौडेलले बताए । उनले भने,‘ हाम्रोबाट इन्स्पेक्टर साब घटनास्थल जानु भएको थियो, राँगो पाइला, अनि सिङले उधिनेर बनाएको घाउ देखिएको छ, अरु शंका गर्ने ठाउँ नभएपछि त्यसै अनुसार मुचुल्का बनाएर पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएका हौं ।’उनको मंगलबार नै पोस्टमार्टम गरी अन्त्येष्ठि समेत भइसकेको छ । धनञ्जयकी पत्नी गर्भवती रहेको र कात्तिकको पहिलोे साताका लागि डाक्टरले समय दिएको उनका आफन्तले बताएका छन् ।
समाधान बाट
























