भानुमा महिलाको बोल्ने बानीको विकास गर्न भाषण कला तालिम

भानुमा महिलाको बोल्ने बानीको विकास गर्न भाषण कला तालिम

ग्रामिण भेगमा रहेका महिलाहरू कुनै पनि समारोहमा पुगेर बोल्न हिचकिचाउने समस्या समाधान गर्नका लागि भाषण कला तालिम दिइएको छ । सार्वजनिक स्थानमा बोल्न नसक्दा अवसरबाट वञ्चित हुनुपरेको अवस्थाको समाधानका लागि भानु नगरपालिका–१ सालबिस्ने स्थित भानु सामुदायिक सिकाई केन्द्रद्धारा तालिम प्रदान गरिएको हो ।

 नेतृत्वमा पुग्नका लागि आफ्नो व्यक्तित्व विकास गर्नु पर्ने भएकाले निर्धक्कसँग आफ्नो कुरा राख्न सक्ने बनाउनु पर्ने भएकोले तालिम प्रदान गरिएको भानु सामुदायिक सिकाई केन्द्रका अध्यक्ष विष्णुप्रसाद मिश्रले बताउनुभयो । उद्घोषण, भाषणकला तथा नेतृत्व विकाससम्बन्धी र माइन्यूट लेखन क्षमता वृद्धि विषयमा प्रशिक्षण प्रदान गरिएको अध्यक्ष मिश्रले जानकारी दिनुभयो । भाषण गर्ने शैली राम्रो हुनेलाई अवसरको कमी नहुने भएकोले  क्षमता बढाएर भाषण कलामा पोख्त हुनको लागि तालिम सञ्चालन गरिएको केन्द्रकी सचिव बिमला कुमालले जानकारी दिनुभयो । दुइ दिन सञ्चालन गरिएको तालिमको शुक्रबार समापन गरिएको छ । तालिममा सहभागीलाई भानु नगरपालिका–१ का वडा सदस्य तुलबहादुर गुरुङ, भानु सामुदायिक सिकाई केन्द्रका अध्यक्ष विष्णुप्रसाद मिश्र र प्रशिक्षक अमरराज नहर्कीले  सयुक्त रुपमा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा सिकाइ केन्द्रका अध्यक्ष विष्णुप्रसाद मिश्र तथा पत्रकार अमरराज नहर्कीले प्रशिक्षण प्रदान गर्नु भएको थियो । तालिममा सहभागी सुस्मिता गुरुङले बोल्ने अभ्यास नहुँदा आफूलाई लागेको कुराहरू पनि व्यक्त गर्न नसक्दा समस्या भएकोमा ढुक्कसँग भाषण गर्न सक्ने हिम्मत आएको बताउनुभयो । तालिममा सहभागी अन्जु घलेले बोल्ने कलाको विकास नहुँदा सङ्घसंस्थामा नेतृत्व गर्ने अवसरबाट समेत वञ्चित हुनुपर्ने अवस्थामा तालिमले आत्मबल बढेको बताउनु भयो  ।  तालिममा उद्घोषण, भाषणकला, नेतृत्व विकास अन्तर्गत सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र सिप, र भाषण कला, माइन्यूट लेखनका साथै सफल नेतृत्व कसरी गर्ने लगायत प्रयोगात्मक अभ्यास गरिएको थियो । तालिममा सिकाई केन्द्रसँग आबद्ध ४२ जना महिलाहरू सहभागी हुनु भएको थियो । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page