तनहुँकाे ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम सुरु

तनहुँकाे ऋषिङ र देवघाट गाउँपालिकामा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम सुरु गरिएको छ ।
जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा पर्ने असर तथा प्रभाव न्यूनीकरणका लागि असल कृषि अभ्यास र प्रविधिको अवलम्बन गरी जलवायु अनुकूल क्षमताको विकास गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।


कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश, जिल्ला समन्वय समिति तनहुँ, कृषि ज्ञान केन्द्र र ऋषिङ गाउँपालिकाको समन्वयमा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम सञ्चालन गरिएको हाे ।कृषि ज्ञान केन्द्र अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ मा दुईवटा जलवायु मैत्री कृषि प्रवर्द्धन कार्यक्रम स्वीकृत भएको थियो । त्यस अन्तर्गत एउटा क्षेत्रमा १० लाखकाे याेजना अन्तर्गतकाे कार्यविधि अनुसार पालिकाहरू सँग समन्वय गरेर हेर्दा र देवघाट र ऋषिङ्ग दुईवटा पालिका छनाेट भयो । छनाेट भए पश्चात् त्यहाँ के उपयुक्त हुन्छ भनेर कार्यालयकाे टिम पुगेर हेर्दा त्यहाँको क्रियाकलाप अनुसार निश्चित गरि कार्यक्रम छनाेट भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछानेले बताए ।
अहिले तापक्रम बढ्दै गएको अवस्थामा कृषि बालीलाइ कसरी बृद्दि गर्न सकिन्छ भनेर
समुदाय तथा पालिका सँग सहकार्य गरेर अगाडि बढेको उनलेे जानकारी दिए । जसअनुसार ५ वटा प्लास्टिकको घर बनाउने , पानी लिफ्टिङ्ग गरेर ल्याइ सिंचित गरेर खेतीपाती गर्ने , माैरी सहितको १० वटा माैरी घार राख्ने काम भएको प्रमुख लामिछानेले बताए ।

ऋषिङ–७ आम्चोकमा २३ घरधुरी जलवायुमैत्री कृषि प्रविधि कार्यक्रममा सहभागी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जलवायुमैत्री कृषि प्रविधि कार्यक्रमको शुभारम्भ गर्दै कम बजेटमा सुरुआत गरिएको खेतीले उत्पादन र उतपादकत्व वृद्धिमा सहयोग पु¥याउन सक्नुपर्नेमा जोड दिए। उनले भने, “सिँचाइको समेत अभाव रहेको स्थानमा पम्पिङ गरी ल्याई उपयोग गरिएको छ, कम बजेटमा गर्न सकिन्छ भन्ने शंकाका साथ सुरुआत गरिएको सफल भइरहेको छ, यसले कृषकका साथै हामीलाई प्रेरित गरिएको महसुस भएको छ ।”यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्छ र यस प्रणालीको अवलम्बन गरी गरिएको खेतीबाट कृषक आयस्तरसँग जोडन सक्नुपर्छ वाग्लेले भने ।
कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले कृषकलाई तालिम, आवश्यकताका आधार पहिचान गरी रोजगार बनाउने योजनासहित अगाडि बढेको बताए। उनले भने, “यहाँ गरिएको खेती नमूना बनाउनेछौं, यो कार्यक्रमलाई प्रभावकारी र नमुना कार्यको रुपमा विकास गर्नेछौं र सबैले हेर्ने तथा आकर्षण गर्ने क्षेत्रका रुपमा विकास गर्नेछौँ ।”
कृषि, भूमि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका उपसचिव गोविन्द पाण्डेले मौसम परिवर्तनले अत्यधिक वर्षा तथा कम वर्षाको समयमा पनि खेती गर्न सक्ने गरी कार्यक्रम सञ्चालनमा आएको बताए। उनले भने, “जलवायु परिवर्तनमा नै उत्पादन लिने गरी खेतीलाई विकास गर्ने लक्ष्य हो, यहाँ उत्पादनलाई बीउ उत्पादनमा जोडेर प्रदेश सरकारले खरिद बिक्री गरी अन्यत्र प्रवर्द्धन गर्न सकिनेछ ।”
जलवायुजन्य प्रकोप तथा जोखिमको अवस्था, समुदायको सामाजिक, आर्थिक अवस्था, भौगोलिक विकटता, खाद्य सुरक्षाको अवस्थाको अध्ययन तथा अनुसन्धान गरी कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
। लिफ्टिङ र थोपा सिँचाइमार्फत खेती गर्ने गरी जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम सञ्चालनमा ल्याइएको केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले जानकारी दिए।
“चालु आर्थिक वर्षमा ऋषिङ–७ आम्चोक र देवघाट–४ मा यो कार्यक्रम सञ्चालन भइरहेको छ, यसको सुरुआतले कृषकमा उत्साह जगाउन मद्दत पुगेको छ”, उनले भने। माटोको स्वास्थ्य प्रवर्द्धनका लागि कोसेबाली उत्पादन प्रवर्द्धन, मिश्रित खेती प्रणाली प्रवर्द्धन, हरियो मल प्रवर्द्धन, गोबर मल तथा गड्यौला मल उत्पादन र प्रयोग, माटो परीक्षणसहित खेती गर्न प्रेरित गर्न सकिन्छ । उक्त अवसरमा स्थानीय युवा लालबहादुर आलेले टनेलमा गाेलभेंडा , खुर्सानी काक्रो जमाउन सुरु गरेको भन्दै खासगरी बेसिजनका चिजहरू उत्पादन गर्ने गरि अगाडि बढेको बताए । कार्यक्रममा ऋषिङ्ग गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल अंगाइ लगायतको उपस्थिति रहेको थियो ।
























