शुक्लागण्डकीमा १ अर्ब २४ करोड ७६ लाख ३३ हजार ९६२ रुपैयाँको बजेट पेश

शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेकाे छ । नगरपालिकाकाे सभाहलमा साेमबार बसेकाे १७ औं नगर सभामा नगरप्रमुख कृष्णराज पण्डितले अनुमानित बजेट र उपप्रमुख खम बहादुर विश्वकर्मा ‘राजु’ ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सभामा नगरप्रमुख पण्डितले जम्मा १ अर्ब २४ करोड ७६ लाख ३३ हजार ९६२ रुपैयाँको बजेट पेश गरे भने उपप्रमुख खुम बहादुर विश्वकर्माले १२७ बुदाँमा नीति तथा कार्यक्रम प्रस्ताव गरे ।बजेट तर्फ सबैभन्दा धेरै रकम पूर्वाधार विकासमा विनियाेजन भएकाे छ । पूर्वाधार विकासमा ११ करोड ६९ लाख ९३ हजार ६४६ रुपैयाँ विनियाेजन भएकाे नगरप्रमुख पण्डितले जानकारी दिए । वडा कार्यालयका लागि ९ करोड २८ लाख ७८ हजार १५ रुपैयाँ छुट्याइएको छ ।

सामाजिक विकासतर्फ ६ करोड ४३ लाख ६४ हजार ८६६ रुपैयाँ, आर्थिक विकासमा १ करोड ९२ लाख ८७ हजार ८०२ रूपैयाँ विनियोजन भएकाे छ । यस्तै वन, वातावरण तथा विपद् तर्फ २ करोड ४२ लाख ८७ हजार ८०२ रुपैयाँ छुट्याइएको छ । चालु प्रशासनिक खर्चतर्फ १५ करोड ८१ लाख ६१ हजार २६७ रुपैयाँ विनियोजित छ ।
आम्दानीतर्फ संघीय सरकारबाट समानीकरण अनुदान १४ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । राजस्व बाँडफाँड ११ करोड ९२ लाख ६७ हजार ०२९ रुपैयाँ, शसर्त अनुदान ६३ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको हो। गण्डकी प्रदेशबाट प्राप्त हुने समानीकरण अनुदान १ करोड ९४ लाख २९ हजार रुपैयाँ, राजस्व बाँडफाँट अन्तर्गत १ करोड ६१ लख १० हजार रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदान ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान पेश गरिएको छ ।
नगरपालिकाकाे आन्तरिक स्रोतबाट २५ करोड १० लाख २७ हजार ९३३ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको बजेटमा उल्लेख छ । घरजग्गा रजिष्ट्रेशन शुल्क १ करोड ५० लाख रुपैयाँ, संघीय सरकार समपूरक अनुदान २ करोड १८ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट विशेष अनुदान ४० लाख रुपैयाँ, शशर्त अनुदान २ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । यस्तै, जनसहभागिताबाट १ करोड ५० लाख रुपैयाँ सङ्कलन हुने अनुमान गरिएको प्रमुख पण्डितले बताए ।
उपप्रमुख विश्वकर्माले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा नगरपालिका वडा नं.२, ७ र ८ मा बसाेबास गर्ने भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसाेबासीले भाेगचलन गर्दै आएकाे नापीनक्शा सम्पन्न भइसकेका जमिनकाे लालपुर्जा वितरण गरिने उल्लेख छ ।
सेती नदीमा चेक ड्याम, नगर रङ्गशाला, बसपार्क, सिटिहल , सूचना तथा पुनःताजगी केन्द्र जस्ता नगर गाैरवका आयाेजनामा लगानीकाे वातावरण सुधार गर्न सार्वजनिक निजी साझेदारी, सार्वजनिक निजी सहकारी जस्ता अवधारणा कार्यान्वयन गरिने उपप्रमुख विश्वकर्माले सुनाए ।
आर्थिक, सामाजिक विकासकाे सन्तुलन, पर्यावरणीय संरक्षणमा प्राथमिकता सहित मानव विकासकाे लक्ष्य हासिल गर्न “दिगाे शक्लागण्डकी कार्यक्रम” सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरपालिकामा रहेकाे सेवा प्रवाह केन्द्रलाई अझ व्यवस्थित गर्न अनलाईन फाइल टेकिङ प्रणाली अवलम्बन गरिने बताइएको छ ।
दलित, विपन्न तथा सहिद परिवारकाे लागि सुरक्षित आवास निर्माण गर्न बजेट व्यवस्था गरिएकाे छ ।
बजार क्षेत्रकाे साैन्दर्य कायम राख्न ईन्टरनेट, टिभि लगायत वायर सेवा प्रदायकहरूहरूलाई तारमा लाेगाे राख्न अनिवार्य गरिने र स्थानीय सरसफाइ शुल्कको दायरामा ल्याइने उल्लेख गरिएकाे छ ।
सामुदायिक विद्यालयहरूमा स्थानीय कृषि उपज र उद्यमबाट उत्पादित रैथाने खाजाकाे व्यवस्था गरिने, एक वडा एक नमुना विद्यालय छनाेट गर्ने जस्ता कार्यक्रम समेटिएको छ ।
कृषि तर्फ तरकारीमा प्रतिकेजी २ देखि ५ रूपैयाँ अनुदान दिने र दुधमा हालकाे प्रतिलिटर २ रूपैयाँ अनुदान बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । कृषि एम्बुलेन्स मार्फत गाउँ गाउँबाट कृषि उपज सङ्कलन गरि बेलचाैतारा स्थित कृषि उपज सङ्कलन केन्द्रमार्फत विक्रि गर्ने व्यवस्था मिलाइने दावी गरिएको छ । माटाेकाे उर्वराशक्ति बढाउन र पर्यावरण जाेगाउन जैविक खेती प्रणालीमा जाेड दिइने भएकाे छ । यस्तै, बाझाे जमिनमा कफी खेती गर्न प्राेत्साहित गर्ने कार्यक्रमलाई निरन्तरता दिइने भएकाे छ ।
‘अर्गानिक पर्यटन, गाउँ घरबास’ कार्यक्रम सञ्चालन गरि भुजिकाेट, दगाम, मिलिनियम पदमार्ग, चरीमार्ग जस्ता स्थलमा आन्तरिक तथा बाह्य पर्यटककाे आगमन बढाइने बताईएकाे छ ।
१२७ बुदाँँमा समेटिएको नीति तथा कार्यक्रममा अधिंकाश चालू आर्थिक बर्षकै कार्यक्रमहरूकाे निरन्तरता छ । यसअघि चुनाैतीपूर्ण बनेकाे फाेहाेर संकलन तथा सरसफाइ केन्द्रलाई सुर्य नेपालकाे सहयाेग र ग्रीन नेपालकाे व्यवस्थापनमा यश बर्ष व्यवस्थित गरिने उल्लेख गरिएको छ ।
























