भानु नगरपालिकामा साँढे ८८ करोडकाे बजेट प्रस्तुत

भानु नगरपालिकाको १६ औं नगर सभाको द्रितिय बैठक सम्पन्न भएको छ । सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८८ करोड ५९ लाख ४ हजारकाे बजेट प्रस्तुत गरिएको छ ।
कुल विनियोजन रकम मध्ये चालुतर्फ रु.६४ करोड ५ लाख ४ हजार अर्थात ७२ दशमलव ३ प्रतिशत (संघिय सशर्त अनुदान चालु तर्फ ४० करोड ४७ लाख शिक्षक विद्यालय कर्मचारी, स्वास्थ्य तथा आयूर्वेद तर्फका कर्मचारिको तलब, पोषाक र महंगी भत्ता खर्च समेत गरी चालु तर्फ प्राप्त भएको हुँदा चालु खर्च धेरै देखिन गएको र आन्तरीक स्रोत तर्फ रु.४४ करोड १५ लाख ४ हजार मध्ये चालु खर्च ४९ दशमलव ९० प्रतिशत र पुँजीगत खर्च ५० दशमलव ०९ प्रतिशत रहेको छ ।
कूल पुँजीगत तर्फ रु. २४ करोड ५४ लाख अर्थात २७ दशमलव ७० प्रतिशत रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले गत वर्षको नगद मौज्दात रु. ५ करोड ५० लाख रुपैयालाई आगामी आर्थिक वर्षको लागि प्रारम्भिक मौज्दातको रुपमा राखिएको बताएको छ ।
शिक्षा क्षेत्रका लागि ३६ करोड ६७ लाख विनियोजन गरेको छ । “कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजना”का लागि रु. २ करोड १५ लाख विनियोजन गरेको छ । कृषि तथा पशुपालन क्षेत्रका लागि ३ करोड ६५ लाख ५० हजार विनियोजन गरेको छ । सुशासन र संस्थागत क्षमता अभिवृद्धि तथा कार्यालय व्यवस्थापनका लागि विनियोजित बजेटः रु. १५ करोड ३३ लाख, भौतिक पूर्वाधार विकासका लागि रु. २४ करोड ५४ लाख बजेट विनियोजन गरेको छ । जलवायु परिवर्तनका असरलाई न्यूनीकरण एवं अनुकुलनका उपायहरू अवलम्बनलाई प्राथमिकता दिँदै महामारीको पूर्व तयारी तथा व्यवस्थापनका लागि प्रतिकारी योजना बनाई लागू गरिने र वातावरण तथा विपद व्यवस्थापनका लागि विनियोजित बजेटः रु. ५० लाख रहेको छ । घरेलु हिंसा, जातीय–लैङ्गिक हिंसा, छुवाछुत, लागुपदार्थ दूव्र्यसनी, मानव बेचबिखन, आत्महत्या दुरुत्साहन जस्ता सामाजिक अपराध न्यूनीकरण तथा नियन्त्रणका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्नका लागि रु.५५ लाख रुपैया विनियोजन गरिएको छ ।
युवाहरूलाई सीप, पुँजी र प्रविधि हस्तान्तरण गरी युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरिनेछ । साना तथा घरेलु उद्योग, परम्परागत पेशा व्यवसायको स्थापना, विकास, विस्तार तथा संरक्षण र प्रवर्धनमा विशेष जोड दिइनेछ । सहकारीलाई पूँजी निर्माणको महत्त्वपूर्ण माध्यमको रूपमा स्थापित गरी स्थानीय रोजगारी वृद्धि तथा स्थानीय कृषि उद्योग स्थापना र साना घरेलु उद्यममा लगानी गर्ने वातावरणको सृजना गरिने र यस क्षेत्रको विकास र सेवाका लागि रु.३५ लाख विनियोजन गरेको छ ।
“भानु जन्मस्थल जाऊँ भानुलाई चिनाऔं“ भन्ने नाराका साथ भानु जन्मस्थलको विकासका लागि प्रारम्भिक गुरुयोजना अन्तर्गत आदिकवि भानुभक्तको विशाल प्रतिमा, सप्तधाम निर्माण, जग्गा अधिग्रहण, साहित्यिक पार्क, पूर्वाधार निर्माणको लागि संघीय सरकारद्वारा विनियोजित बजेटका साथै दातृ निकाय एवं देश विदेशमा आवश्यक समन्वय गरिने बजेट बक्तब्यमा उल्लेख छ ।
नगरपालिकाभित्र रहेका पर्यटकीय स्थलहरूको संरक्षण, संवर्धन र प्रवर्धन गरिने र होमस्टेहरूको संरक्षण संवर्धन, प्रवर्धन एवं दर्ता र नवीकरण गरी होमस्टे सर्किटको विकासका साथ नेपालको मौलिक कला र संस्कृति झल्किने खाना, पहिरन तथा रोधी, घाँटु, लाखेनाच, चुट्का, झाम्रे लगायतका पहिचान संरक्षण तथा प्रवर्धन हेतुले“भानु नगरको होमस्टे जाँउ“भन्ने नारालाई सार्थक तुल्याइने छ ।
भानु साहित्य उद्यानका लागि भानु नगरपमालिकाको विशेष र अनवरत प्रयासको परिणाम स्वरुप २० करोड रुपैया संघीय सरकारबाट विनियोजन गरिएको व्यहोरा उल्लेख गर्दै यस क्षेत्रको विकासका लागि नगरपालिकाबाट समेत पर्याप्त बजेट विनियोजन गरिएको छ ।
राजस्व बाँडफाँटःसंघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व प्राप्त हुने बजेट मध्ये प्रदेश सरकारबाट रु.१ करोड ३४ लाख १५ हजार तथा संघीय सरकारबाट प्राप्त हुने ११ करोड ५४ लाख ८८ हजार अनुमान गरिएको छ ।
आन्तरिक आयःघरजग्गा रजिष्ट्रेसन शुल्क, सेवा शुल्क, दस्तुर, बहाल कर, व्यवसाय कर, जग्गा कर÷मालपोत, विज्ञापन कर लगायतका विभिन्न आन्तरिक स्रोतहरूबाट रु. ३ करोड २५ लाख आम्दानी हुने अनुमान गरेको छ ।
अनुदानःसंघीय सरकारको तर्फबाट (समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान रु.६२ करोड ६४ लाख) र प्रदेश सरकार (समानीकरण, सशर्त, विशेष र समपूरक अनुदानबाट २ करोड ८६ लाख १ हजार गरी जम्मा रु.६५ करोड ५० लाख प्राप्त हुने अनुमान छ ।
नव प्रवर्तन साझेदारी समेत २ करोड १५ लाख तथा अन्य गत आ.व. को अल्या सहित रु.५ करोड ५० लाख गरी आगामी आ.व.को लागि कुल बजेट ८८ करोड ५९ लाख ४ हजार आम्दानी हुने गरी प्रक्षेपण गरिएको छ ।
नगरवासीहरूको खुसी र समृद्धिको सपना साकार पार्ने नगरपालिकाकाे साझा लक्ष्य प्राप्तिका लागि यो बजेट एउटा महत्वपूर्ण कदम भएकोे विश्वास लिएको नगरपालिकाकी उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक उमा गोतामेले बताउनु भएको छ । नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा १६ औं नगर सभामा उप–प्रमुख गोतामेले सुशासन, पारदर्शीता, जवाफदेहीता र जनमूखी सेवा प्रवाहलाई प्रमुख लक्ष्य बनाएको बताउनु भयो ।
“संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यता, सहअस्तित्व र समन्वयलाई प्रवद्र्धन गर्दै जनसहभागिता, उत्तरदायित्व र पारदर्शिता सुनिश्चित गरीसुलभ र गुणस्तरीय सेवा प्रवाहगरी सरकार जनतामाझ नै आएको अनुभूति जनतालाई दिनुपर्ने अवसर, दायित्व र चुनौती हामी माझ आएको छ । ” नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले भन्नुभयो ।

“साहित्य, पर्यटन र कृषि क्षेत्र हाम्रो, पारौं समृद्ध र समुन्नत भानु राम्रो“ भन्ने दीर्घकालीन सोचलाई साकार पार्नका लागि तयार पारिएको मार्गचित्र भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताउनु भयो ।

























