तनहुँमा एसईई टपर ४ मध्ये तीनजना छात्रा !
तनहुँमा चार जना विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गर्दै चार जिपिए (GPA 4.0) प्राप्त गर्न सफल भएका छन्। जिल्ला टपेका चारजना बिद्यार्थीमा तीनजना छात्रा र एकजना छात्र रहेका छन् ।
जिल्लाका विभिन्न पालिकाबाट परीक्षा दिएका ती विद्यार्थीहरूले अनुकरणीय सफलता प्राप्त गरेका हुन्।व्यास नगरपालिका–५ चापाघाटस्थित शान्तिवर्ष माध्यमिक विद्यालयकी छात्रा स्नेहा गिरी तनहुँ जिल्लाको नगर क्षेत्रमा रहेर चार जिपिए ल्याउने एक मात्र विद्यार्थी बनेकी छन्। त्यस्तै, औंवुखैरेनी गाउँपालिका अन्तर्गत रहेको रामशाह माध्यमिक बिद्यालयकी छात्रा सन्जिना थापा र बन्दीपुर गाउँपालिकास्थित पवित्रा माध्यमिक विद्यालयकी छात्रा आयुषा श्रेष्ठले चार जिपिए ल्याउन सफल हुँदै छात्राहरूको अब्बलता प्रस्तुत गरेका छन् । तीनजना छात्रा सँगै अर्का मेहेनती बिद्यार्थी रामशाह माध्यमिक बिद्यालयका किस्मत पोख्रेलले चार जिपिए ल्याउँदै गाउँपालिकाको शैक्षिक प्रगतिको उदाहरण प्रस्तुत गरेका छन्। उनीहरूको नतिजाले ग्रामीण क्षेत्रमा पनि गुणस्तरीय शिक्षाको सम्भावना प्रमाणित भएको छ।

शुक्रबार सार्वजनिक नतिजाअनुसार तनहुँ जिल्लाबाट कूल ४ हजार ८ सय ४५ परीक्षार्थी सहभागी भएका थिए। शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका अनुसार तीमध्ये ३ हजार ९६ जना विद्यार्थी ग्रेडेड श्रेणीमा उत्तीर्ण भएका छन् भने १ हजार ७ सय ४९ जना अनुत्तीर्ण भएका छन्। यस अनुसार जिल्लाको समग्र उत्तीर्ण प्रतिशत ६३.९० रहेको छ।

शिक्षा इकाइले उपलब्ध गराएको तथ्याङ्क अनुसार ४ सय१० जना विद्यार्थीले ३.६–४.०, ८९५ जनाले ३.२–३.६, १,१६४ जनाले २.८–३.२, ६०२ जनाले २.४–२.८, र २५ जनाले २.०–२.४ जिपिए ल्याएका छन्।
























