अभिभावकविहीन बालबालिकासँग रमाइन् कल्पना गौली

अभिभावकविहीन बालबालिकासँग रमाइन् कल्पना गौली

तनहुँको व्यास नगरपालिकाका असहाय, अभिभावकविहीन तथा संरक्षकविहीन बालबालिकासँग बिहीबार किसान कल्पना गौली रमाएकी छन् । शिक्षाको उज्यालो घामबाट कुनैपनि बालबालिका वञ्चित हुन नपरोस् र सामाजिक न्यायको सिद्धान्त बमोजिम व्यास नगरपालिकाद्धारा सञ्चालन गरिएको व्यास नगर समता विद्यालयका बालबालिकालाई आफूले उत्पादन गरेको ड्रागन फू्रट (सिउँडी फल) बाँडेर किसान गौली रमाएकी हुन् ।

बालबालिकालाई आमाको अभाव महसुश नहोस् भनेर फलफूल बाँडेर उनिहरुसँग एक दिन समय बिताएको किसान गौलीले बताइन् । गौलीले समतामा रहेका ६५ जना सबै बालबालिकालाई सिउँडी फल वितरण गरेकी थिइन् । गौलीले बालबालिका तथा शिक्षकलाई कृषिसँग व्यवहारिक ज्ञान लिनको लागि व्यास नगरपालिका–५ ढोडेनी स्थित माँ अम्बे अलौकिक कृषि फर्ममा अवलोकन गर्न निमन्त्रणा समेत दिएकी छन् । किसान गौलीले आफ्नो फर्मबाट भएको आम्दानीको १५ देखि २५ प्रतिशत सम्म सामाजिक कार्यमा खर्च गर्दै आएकाे बताउँछिन्। जसअन्तर्गत गाैलिले बालबालिकालाई फलफूल वितरण गरेकी हुन्। नगरपालिकाद्वारा बस्ने, खाने, पढ्ने र सुत्ने सहितको सुविधा प्रदान गरेपछि बालबालिका खुसी छन् । विद्यार्थी अभावले गर्दा बन्द भएको व्यास नगरपालिका–७ मा रहेको क्यामिन छापथोक प्राथमिक विद्यालयलाई नगरपालिकाले ४० लाख खर्चेर विद्यालयको मर्मत सम्भार गरी २०७९ साल भदौ ५ गतेबाट व्यास नगर समता विद्यालय सञ्चालनमा ल्याएकाे थियो । अभिभावकीय दायित्व नगरपालिकाले लिएर ती बालबालिकाको चौतर्फी विकासको लागि विद्यालय सञ्चालनमा ल्याइएपछि बालबालिकाहरूले साहारा पाएका हुन् । साहाराविहीन भएका कतिपय बालबालिका सडकमा भौँतारिएर हिँड्ने गरेकोले पढ्ने, लेख्ने अधिकारबाट वञ्चित हुने तथा कुपोषण हुने गरेकोले व्यास नगर समता विद्यालय सञ्चालनमा ल्याइएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । आफू क्याम्पसको प्राध्यापकको समयमा ‘सामाजिक न्याय’ विषय पढाएको स्मरण गर्दै नगर प्रमुख न्यौपानेले “बालबालिकाको हेरचाह, स्याहार संहार तथा आधारभूत अधिकार उपयोग र संरक्षण गर्न सञ्चालन गरेकाे बताए ।
कक्षा ७ सम्म सञ्चालन गरिएको यस विद्यालयमा ६५ जना अभिभावकविहीन बालबालिकाले अध्ययन गरिरहेका छन् । बिद्यालयका प्रिन्सिपल अर्जुन सुनारका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खान, बस्नको व्यवस्थापन समेत यही गरिएको छ । सामाजिक न्यायको सिद्धान्त बमोजिम अभिभावकविहीन कलिला बालबालिकाको उज्ज्वल भविष्य तथा समतामूलक समाज निर्माण गर्नको लागि विद्यालय स्थापना गरी सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । कक्षा १ देखि ८ सम्म पढाई भइरहेको विद्यालय प्रधानाध्यापक अर्जुन सुनारले जानकारी दिए । हाल सो विद्यालयमा शिक्षक र कर्मचारी गरी १० जना छन् भने सबै कक्षाहरूमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुने र हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप गरिने प्रधानाध्यापक सुनारले बताए । यसरी व्यास नगरपालिकाले अभिभावक विहीन बालबालिकाको संरक्षकत्व गरेकोमा स्थानीय बासिन्दाहरू खुसी छन् । बन्द अवस्थामा रहेको क्यामिनकोट प्राथमिक विद्यालयलाई समता विद्यालयको रुपमा सञ्चालन गरिएको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page