विपी स्मृति दिवसमा भिमादकाे जनज्योति क्याम्पसमा नेवि संघ द्वारा पुस्तक हस्तान्तरण

भिमाद , ७ साउन
नेपाली साहित्य र राजनीतिका शिखर व्यक्तित्व बिपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ जनज्योति क्याम्पस इकाइले विशेष पुस्तक दान कार्यक्रम सम्पन्न गरेको छ।

जनज्योति क्याम्पसको पुस्तकालयमा आयोजित कार्यक्रममा तीन घुम्ती, सुमन, नरेन्द्रदाई, हिट्लर र यहूदी लगायत विपी कोइरालाका चर्चित साहित्यिक कृति, आत्मकथा, राजनीतिक लेख तथा प्रेरणादायी पुस्तकहरू हस्तान्तरण गरिएको थियो।

कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा अध्ययन, चिन्तन र विवेचनाको संस्कार विकास गर्नु रहेको बताइएको छ। साथै, विपी कोइरालाको विचार र योगदानलाई नयाँ पुस्तामा जगेर्ना गर्न यो अभियान प्रेरणादायी हुने आयोजकको विश्वास छ।
क्याम्पस प्रमुख केशव राज काफ्लेले पुस्तक दान कार्यक्रमप्रति नेपाल विद्यार्थी संघलाई धन्यवाद दिंदै भने, “बिपी कोइराला नेपाली समाजका लागि युगपुरुष हुनुहुन्थ्यो। उहाँका कृतिहरूले सोच, चेतना र आत्मविश्लेषणका ढोका खोलिदिन्छन्। यस्ता पुस्तकहरू क्याम्पसमा उपलब्ध गराउनु उहाँप्रति सच्चा श्रद्धाञ्जलि हो।”
त्यस्तै, नेवि संघ इकाई अध्यक्ष अमृत गैह्रेले भने “विपी कोइराला केवल नेता नभई राजनीतिक र साहित्यिक इतिहासका उच्च शिखर हुनुहुन्छ। उहाँले देखाएको बाटोमा हिँड्दै हामीले ज्ञानको उज्यालो फैलाउने संकल्प गरेका छौँ।”
कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक तथा प्रतिनिधिहरूले विपी कोइरालाको विचारबाट प्रेरणा लिँदै अध्ययन र अनुसन्धानमा अझ सक्रिय हुने प्रतिबद्धता जनाएका थिए।
























