भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ्ग गर्ने

कृषिमा रुपान्तरण आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजना अन्तर्गत भानु नगरपालिकाले स्थानीय स्तरमा उत्पादन हुने सागलाइ गुन्द्रुकमा रुपान्तरण गरी गुन्द्रुकलाई ब्राण्डिङ्ग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने दीर्घकालीन योजना अघि सारेको छ।

भानु नगरपालिकाका नगर प्रमुख आनन्द राज त्रिपाठीको विशेष सक्रियता र नेतृत्वमा सञ्चालित यस अभियानको उद्देश्य भानु क्षेत्रको मौलिक पहिचान बोकेको सागलाई मूल्य अभिवृद्धि गरी व्यवस्थित ढंगमा बजारीकरण गर्नु रहेको छ ।

इलाम जिल्लाको रोङ गाउँपालिकामा सम्पन्न अध्ययन भ्रमणबाट प्रेरित भई भानु नगरपालिकाले पनि स्थानीय सागलाइ विशेष गरी गुन्द्रुक उत्पादन, प्रशोधन र बजारीकरणमा नविनतम प्रविधि तथा व्यवस्थापन प्रणालीको प्रयोग गर्ने नीति बनाएको छ।
गुन्द्रुक उत्पादनका लागि:
स्थानीय कृषक समूहहरूको क्षमता अभिवृद्धि गर्ने,
उत्पादनको गुणस्तरमा एकरुपता ल्याउने,
प्याकेजिङ्ग र लेबलिङ्ग सुधार गर्ने,
र राष्ट्रियस्तरको “भानु गुन्द्रुक” ब्राण्ड निर्माण गर्ने काम अगाडि बढाइनेछ।
साथै यस कार्यका लागि सूचना प्रविधिको प्रयोग गरी उत्पादन ट्र्याकिङ, अनलाइन बिक्री प्रवर्द्धन, डिजिटल मार्केटिङ र QR कोडमार्फत स्रोत पहिचान जस्ता उपायहरू पनि अपनाइने नगरपालिकाले जनाएको छ ।
यो कार्यक्रमको उद्देश्य केवल उत्पादनमा सीमित नभई, भानुका कृषकहरूको उत्पादनलाई मूल्य अभिवृद्धि गर्दै उनीहरूको आम्दानी वृद्धि गर्नु हो र
यो पहलले भानु नगरपालिकालाई गुन्द्रुक उत्पादनको हब बनाउने र कृषकहरूलाई आर्थिक रूपमा सबल बनाउने दिशामा टेवा पुर्याउने विश्वास गरिएको छ।
























