भिमाद नगरपालिकाका अधिकांश मुद्दा मेलमिलाप बाटै समाधान

भिमाद नगरपालिकाका अधिकांश मुद्दा मेलमिलाप बाटै समाधान

तनहुँ, साउन २९ गते । तनहुँको भिमाद नगरपालिकाकाे न्यायिक समितिले मिलापत्रबाटै मुद्दाको समाधान गरेको छ । मेलमिलापको माध्यमबाट मुद्दाको छिनोफानो गर्दा पक्ष र विपक्षको सम्बन्ध राम्रो हुने र समयको बचत हुने हुँदा नगरपालिकाले मेलमिलापकाे पद्धति अपनाएकाे हाे । नगरपालिकामा परेका अधिकांश मुद्दा मेलमिलाप तथा छलफलका माध्यमबाट टुङ्गो लगाउने गरिएको समितिले जनाएकाे छ । दुवैलाई जीतको महशुस बनाउन मिलापत्रबाटै समाधान गरिएको हाे न्यायिक समितिले भनेको छ । समितिका अनुसार हार र जीतको अवस्थामा दुवैलाई नोक्सान हुन्छ भनि सम्झाई बुझाई परामर्श दिएर मेलमिलापको माध्यमबाट समाधान गरिएको हो ।

नगरपालिकामा २०७४ सालदेखि हालसम्म २ सय १० वटा उजुरी परेको छ भने आर्थिक वर्ष २०८१/८२ मा २६ वटा उजुरी परेको छ । जसअनुसार मेलमिलाप भएको ९ वटा , फर्छाैट हुन बाँकी रहेको ३ वटा , सम्बन्धित निकाय पठाइएको ११ वटा र ३ वटा खारेज भएको छ ।
यसमध्ये घरजग्गा साँध सिमाना सम्बन्धि ४ , माना चामल , खान लाउन शिक्षा सम्बन्धि ३ , सार्वजनिक जग्गा विवाद १ , कुटपिट , लुटपाट , बेइज्जती २ , ज्याला मजदुरी १ , बाटो प्रयाेग गर्न नदिएको २ तथा अन्य ११ गरि २६ वटा मुद्दाकाे निवेदन परेकाे न्यायिक समिति संयोजक तथा नगरपालिकाकि उपमेयर शारदा खनालले जानकारी दिइन् । अदालती प्रकृयामा जाँदा खर्चिलो हुने एउटाको जीत र अर्काको हार हुने अवस्था रहेपनि न्यायीक समितिले दुुवै पक्षको जीत जीतको अवस्था सुनिश्चित गर्दै आएकाे उपमेयर खनालले बताइन् ।

न्यायीक समितिबाट आँफुुहरुले पाएको क्षेत्राधिकारभित्र रही परेका उजुरीलाई धेरै हदसम्म निरुपण गर्न सफल भएको उनी बताउँछिन् । दुुवैको जीत जीतको महसुस गराउँदै न्याय दिँदा आफुुहरुलाई काम प्रति सन्तुष्टि मिलेको खनालले बताइन् । 

‘‘कानुनको पाटो र समझदारीको पाटो फरक हुन्छ हामी कहाँ मुद्धा मिलापत्रले जीत÷जीत भएको छ कसैको पनि हारजीत भएको छैन ।’’ परिवार भित्रको र समाजको विवाद घर परिवार भित्र र समाजमा नै बसेर तत्काल विवादका पक्षहरुलाई सहभागी गराएर मेलमिलापको पक्रियाद्वारा छलफल गराएर विवाद सदाका लागि समाधान ग¥यो भने समाजमा शान्ति कामय र विकास गर्न सकिने उनी बताउँछिन्।

समितिलाई दिएको क्षेत्राधिकारभित्र रहेर धेरैभन्दा धेरै विवाद समाधान गर्ने प्रयास गरिएको र अधिकांश विवाद मेलमिलापको माध्यमबाट समाधान गरिएको न्यायिक समितिले जनाएको छ।

विवाद निरुपण गर्न नसकेका उजुरी जिल्ला अदालतमा पठाउन सकिने कानुनी व्यवस्था भए पनि पक्ष, विपक्ष, सँधियार, वडा प्रतिनिधि र नगपालिकाका प्राविधिकसहित फिल्ड डोर खटाइ अधिकांश मिलापत्र गरिएको समितिले जनाएको छ । उजुरी निरुपणलाई सहज बनाउन नगरपालिकाले ९ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । नगरपालिकाले वडामै विवाद समाधान गर्नका लागि सबै वडामा मेलमिलाप कर्ता गठन गरि न्याय प्रशासनलाई सहज ,छिटोछरितो एवम् नागरिकमैत्री बनाउने र न्यायिक सचेतना कार्यक्रम गर्ने गर्दै आएकाे छ ।
नगरपालिकामा न्यायिक समितिकाे संयाेजकमा उपमेयर शारदा खनाल तथा सदस्यहरूमा पदमराज सेन ठकुरी , कृष्ण कुमारी कंडेल , उजुरी प्रशासकमा अजय सुवेदी र न्यायिक सहजकर्तामा विनिता राना एवम् गाेबिन्द ढकाल रहेका छन् । न्यायिक समितिले समितिकाे क्षेत्राधिकार र प्रक्रियाकाे बारेमा केन्द्रित भइ समुदायमा न्यायिक समिति कार्यक्रम समेत वडा तहमा सञ्चालन गरेको संयाेजक खनालले जानकारी दिइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page