तनहुँबासीको मन जितेर बिदा भए एसपी शाही
एक वर्ष अगाडीदेखि तनहुँ प्रहरीको कमाण्ड सम्हाल्दै आएका तनहुँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विरेन्द्र बहादुर शाही तनहुँबाट काठमाडौंको लागी बिदा भएका छन् । आक्रामक पुलिसिङको माध्यमबाट भ्रष्टाचार र अपराधविरुद्ध शून्य सहनशीलताको नीति अपनाउदै तनहुँबासी जनताको मन जित्न सफल भएका शाही शुक्रबार तनहुँबाट बिदा भएका हुन् ।

प्रहरी प्रधान कार्यालले केही दिनअगाडी गरेको सरुवाको सुचीमा परेका शाहीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय तनहुँले बिदाई गरेको हो । सरुवामा एसपी शाहीकाे साइबर व्युरो अनुसन्धान शाखा काठमाडौंमा सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शाहीको ठाउँमा प्रदेश प्रहरी कार्यालयमा रहेका एसपी टेकबहादुर कार्कीलाई खटाइसकेको छ । कार्की आज तनहुँकाे कमाण्ड सम्हाल्न आउँदैछन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा आयोजित बिदाई कार्यक्रममा बोल्दै एसपी शाहीले तनहुँबासी सम्पुर्ण बासिन्दा, नागरिक समाज, राजनितिक दल, मिडियाकर्मी तथा सहकर्मी प्रहरी कर्मचारीलाई धन्यवाद दिएका थिए । उनले जिल्ला प्रहरी कार्यालय तनहुँका सिनियर प्रहरी निरीक्षक आसिश विकलाई इन्चार्ज बुझाएर बिदा भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
एसपी शाही अपराध अनुसन्धान र कमाण्ड कन्ट्रोलमा अब्बल अधिकृतको रुपमा परिचित छन् । यो परिचय उनको नामले होइन, कामका परिणामले समेत प्रस्ट पारिसकेको छ । तनहुँकाे प्रहरी प्रमुखको एक वर्षे कार्यकालमा नै उनले देखाएको कामको परिणामले यसको पुष्टि गर्छ । यसबाहेक उनले जिम्मेवारी सम्हालेका सबै युनिटमा प्रभावकारी काम गरेको विवरण प्रहरी मुख्यालयमा नै सुरक्षित छ ।
तनहुँ जिल्लामा बिभिन्न मुद्धामा फरार रहेका फरार अपराधीलाई पक्राउ गरेर कानुनी कारबाहीमा ल्याउने देखि लिएर एसपी शाहीकाे कमाण्डको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा लुकीछिपी बस्दै आएका अपराधीहरुलाई पक्राउ गरी कारवाही गराएको तनहुँ जिल्ला अदालतको तथ्यांगले नै पुष्टि गर्छ ।
तनहुँ प्रहरी भित्र पनि ब्यापक सुधार ल्याएका एसपी शाहीले हरेक महिना प्रहरी कर्मचारीसँग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रम समेत गरेको र जिल्लामा शान्ति सुरक्षाको अनुभूती दिलाउनका लागि एसपी शाहीले प्रहरी अधिकृतहरूलाई निर्देशन दिने गरेका थिए ।
यस अगाडि इन्स्पेक्टर हुँदा समेत तनहुँमा बसेका शाहीले जिल्लाकाे बस्तुस्थिती पहिल्यै बुझेका कारण पनि काम गर्न सजिलो भएको थियो ।
विवादरहित अब्बल एसपीकाे रूपमा हेरिएका शाहीको उत्कृष्ट छवि, अटुट इमान र दृढ नेतृत्वले चिनिएर गए । एसपी शाहीको तनहुँ बसाइ बिवाद रहित र उत्कृष्ट रहेकाे आम तनहुँ बासिकाे विश्लेषण छ। शाहीले संवेदनशील र चुनौतीपूर्ण जिम्मेवारीहरू सदैव सफा छवि, निष्पक्ष निर्णय र परिणाममुखी कार्यशैलीसहित पूरा गरेका तनहुँबासी बताउँछन् । कुनैपनि विवादमा नपरी, केवल आफ्नो काम र कर्मको बलमा जिल्ला चलाएर विश्वासिलो नाम कमाएर एसपी साव सरूवा हुनुभयो एक स्थानीयले भने ।
























