ठुला दलको अहंकारले देश भयानक परिस्थितिमा पुग्यो – प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला दलहरूको अहंकार र संवैधानिक व्यवस्थाप्रतिको असंवेदनशीलताले नेपाल अहिले भयानक परिस्थितिमा पुगेको बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले तत्कालिन समयमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन नचाहने ठूला दलहरूको रवैयाले देश संकटमा पुगेको बताए।

प्रचण्डले माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा निरन्तर वकालत गरेको उल्लेख गर्दै, त्यसको ऐतिहासिकता अहिलेको जेनजी आन्दोलनले फेरि पुष्टि गरेको बताए। उनले भने, “१० वर्षपछि संविधान पुनर्लेखन वा संशोधन गरेर पनि आवश्यक सुधार गर्न सकिन्छ। यसले देशको लोकतान्त्रिक संरचना मजबुत बनाउने आधार तयार पार्छ।”

उनले भ्रष्टाचारविरुद्धको अभियान, संविधानसभाको नेतृत्व र सुशासनका पहलहरूलाई गलत रूपमा आलोचना गर्नु जनताप्रति र इतिहासप्रति ठूलो विश्वासघात भएको बताए। भाद्र २४ गतेको जेनजी आन्दोलनमा केहीले विध्वंस वा घुसपैठ गरेको आरोप लगाए पनि त्यसले आन्दोलनको भावना र ऐतिहासिक सन्देशलाई कमजोर गर्न नपाउने प्रचण्डले बताए।
त्यसैगरी उनले अन्तरिम सरकार गठन र राष्ट्रपतिका भूमिका प्रशंसनीय रहेको भन्दै प्रधानसेनापतिको योगदान पनि सकारात्मक भएको उल्लेख गरे। प्रचण्डले निर्दिष्ट मितिमा निर्वाचन गरेर जेनजी आन्दोलनको भावना अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली संवैधानिक ढंगले सुनिश्चित हुनुपर्ने इच्छा व्यक्त गरे।
























