राम्रो काम गर्दापनी प्रचारप्रसार भएन – व्यास नपा मेयर न्याैपाने

राम्रो काम गर्दापनी प्रचारप्रसार भएन – व्यास नपा मेयर न्याैपाने


व्यास नगरपालिकाको कार्यालयले धेरै राम्रा काम गरेपनि आवश्यक प्रचारप्रसार नभएको भन्दै नगर प्रमुख बैकुण्ठ न्यौपानेले गुनासो व्यक्त गरेका छन् । हामीले राम्रो काम गरिरहेका छाैँ तर प्रचार भएन उनको भनाइ छ । आर्थिक बर्ष २०८२÷०८३ को प्रथम चौमासिकमा सम्पादित कार्यक्रम तथा विकास आयोजना, सुशासन र सेवा प्रवाहको बारेमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाको आयोजनामा शुक्रबार नगरपालिका परिसरमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले उक्त कुरा बताएका हुन् ।नीति र विधिलाई आत्मसाथ गर्दै समृद्ध पालिका बनाउन आफूहरु लागि परेको उनको भनाइ थियो ।
पारदर्शी प्रशासन र समुन्नत पालिका बनाउन नगरवासीको साथ र सहयोग अपरिहार्य रहेको उनलेे बताए ।

‘सुशासन कायम गरी कसरी नगरवासीलाई प्रभावकारी र पारदर्शी सेवा दिन सकिन्छ भन्नेमा हामी प्रतिवद्ध छौं,’ नगर प्रमुख न्यौपानेले भने ‘नागरिकबाट आएका गुनासालाई तत्काल कसरी सम्बोधन गर्न सकिन्छ भनेर हामी जुटी हाल्छौं ।’

विद्यमान सेवाप्रवाहको बारेमा नगरवासीबाट प्राप्त गुनासोलाई सम्बोधन गर्दै जाने उत्कृष्ट अभ्यास नै सार्वजनिक सुनुवाई भएको व्यास नगरपालिकाकी उपप्रमुख ईन्दिरा दरैले बताईन्। उपप्रमुख दरैले नगरवासीको सल्लाह र सुझाव अनुसार नै नगरपालिकाको नीति बनाउनेतर्फ आफूहरुलाई प्रेरणा मिल्ने समेत जानकारी दिइन् ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाको आयोजनामा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा १४ वटै वडाका सेवाग्राहीलाई लक्षित गरी सेवा प्रवाहको बारेमा मत सर्वेक्षण समेत गरिएको थियो । सर्वेक्षणको क्रममा अधिकांश सेवाग्राहीले व्यास नगरपालिकाबाट प्रवाह हुने सेवा सेवाग्राहीमैत्री हुँदै जानु सकारात्मक रहेको बताएका थिए ।
सार्वजनिक सुनुवाईको क्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले चालु आर्थिक बर्षको पहिलो चौमासिकको प्रगति विवरण सार्वजनिक गर्दै संघीय, प्रदेश र स्थानीय तह विचको कानुनी जटिलताको कारण कर्मचारीको बारेमा समस्या सृजना भएको बताए । व्यास नगरपालिकामा रहेका करारका कर्मचारीलाई संघीय नीति अनुसार व्यवस्थापन गर्नेतर्फ आफूहरु जुटीरहेको समेत उनलेे बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरु हरिमाया विक, ईश्वर पन्थ, मदन पौडेल, कविराज श्रेष्ठ, पत्रकार शंकरराज नहर्की र सन्त नेपाली, विष्णुबहादुर अधिकारी लगायतले पारदर्शी सुशासन र जवाफदेही प्रशासन कायम गर्नु पर्ने धारणा राखेका थिए ।
पत्रकार महासंघ तनहुँका उपाध्यक्ष प्रताप रानाले संचालन गरेकाे सार्वजनिक सुनुवाई कार्यक्रममा महासंघ तनहुँका कोषाध्यक्ष पूर्ण विकेले सर्वेक्षणको नतिजा सार्वजनिक गरेका थिए । यस पटकको सर्वेक्षणमा विश्वसनीयता कायम राख्न सोधिएका व्यक्तिको नाम, ठेगाना, सम्पर्क नम्बर, हस्ताक्षर र तस्विर समेत संलग्न गरिएको बताईएको थियो ।
नगरवासीको गुनासोलाई कर्मचारी र जनप्रतिनिधि समक्ष पु¥याई शुसासन कायम गर्न व्यास नगरपालिकाको कार्यालयको सहकार्यमा सार्वजनिक सुनुवाई गरिएको नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page