दमौलीको ‘गणेशमान चोक’ पार्कको आकार घटाइँदै
तनहुँको सदरमुकाम दमौलीस्थित व्यस्त गणेशमान चोकमा सवारी दुर्घटनाको जोखिम कम गर्न र ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ‘गणेशमान सिंह पार्क’ को पुनर्संरचना सुरु गरिएको छ। व्यास नगरपालिका वडा नम्बर २ ले सडकको चापलाई मध्यनजर गर्दै पार्कको ठूलो संरचनालाई भत्काएर सानो र व्यवस्थित बनाउन लागेको हो।

ऐतिहासिक गरिमा र पुनर्निर्माणको आवश्यकता
नेपाली राजनीतिका ‘लौह पुरुष’ गणेशमान सिंहको स्मृतिमा निर्मित यो पार्कले दमौलीको ऐतिहासिक र राजनीतिक पहिचान बोकेको छ। वि.सं. २०४६ को जनआन्दोलनका कमाण्डर सिंहको योगदानको कदर गर्दै यहाँ उहाँको पूर्णकदको शालिकसहितको पार्क निर्माण गरिएको थियो।

विशेषगरी तनहुँका ‘गणेशमान’ भनेर चिनिने प्रजातन्त्रका सेनानी स्व. मोतीकुमार श्रेष्ठको अथक सक्रियतामा यो पार्कको निर्माण सम्भव भएको हो। हाल पार्कको बीच भागमा ठूलो संरचना हुँदा सवारी साधन मोड्न कठिन हुने र दुर्घटनाको जोखिम बढेपछि यसलाई सुधार गर्न लागिएको हो।
व्यास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष काशीराम श्रेष्ठका अनुसार पार्कको सौन्दर्य नमर्ने गरी यसलाई ४ लाख ५० हजार रुपियाँको लागतमा सानो आकारमा पुनर्निर्माण गर्न लागिएको छ।
“सडक साँघुरो हुँदा सवारी आवागमन र पैदलयात्रीलाई समेत असहज भएकोले जनचाहना अनुसार नै पार्कलाई व्यवस्थित बनाउन लागेका हौँ। यसबाट सवारी जाम कम हुने र दुर्घटना न्यूनीकरणमा ठूलो मद्दत पुग्नेछ,” वडाध्यक्ष श्रेष्ठले बताउनुभयो।
गणेशमान सिंह अध्ययन, अनुसन्धान तथा पार्क संरक्षण समितिका अध्यक्ष रामचन्द्र बस्नेतले पार्कको आकार घटाइए पनि यसको गरिमा र गणेशमान सिंहको योगदानलाई जीवन्त राख्नुपर्नेमा जोड दिनुभएको छ। “यो हाम्रो जिल्लाको धरोहर हो। सडक व्यवस्थापनका लागि केही भाग परिमार्जन गरिए पनि शालिकको सुरक्षा र पार्कको सौन्दर्यलाई अझै निखार्ने गरी काम हुनुपर्छ,” बस्नेतले भन्नुभयो।
हाल गणेशमान चोक भएर दैनिक २० हजारभन्दा बढी सर्वसाधारण र हजारौँ सवारी साधन आवतजावत गर्ने गर्दछन्। यो सुधारपछि दमौलीको मुख्य चोक थप सुरक्षित र सुव्यवस्थित हुने अपेक्षा गरिएको छ।


























