अपाङ्गता भएकै कारण दाम्लोमा बाँधिएर जीवन बिताउन बाध्य झलक बी.क.

अपाङ्गता भएकै कारण दाम्लोमा बाँधिएर जीवन बिताउन बाध्य झलक बी.क.


तनहुँ । तनहुँको व्यास नगरपालिका–८, बर्लाइचीका झलक बी.क. जन्मजात बहुअपाङ्गता भएका व्यक्ति हुन्। हाल २६ वर्षका झलक हिँडडुल गर्न असमर्थ छन्। शारीरिक अवस्था नियन्त्रणमा नहुने, जताततै घिस्रेर हिँड्ने तथा दिसापिसाब कपडामै हुने समस्याले उनको दैनिक जीवन अत्यन्तै कष्टकर बनेको छ।
यी सबै समस्याका कारण झलकलाई घरमै दाम्लोले बाँधेर राख्नुपरेको उनकी आमा कालिमाया बी.क. बताउँछिन्। “छोरालाई यसरी बाँधेर राख्नु कुनै पनि आमाको रहर होइन,” उनी भन्छिन्, “अनियन्त्रित दिसापिसाब, बाटोमा दुर्घटनाको जोखिम र आफू बस्तुभाउ तथा खेतबारीको काममा व्यस्त हुनुपर्ने बाध्यताले घरकै खामामा बाँधेर जानुपरेको हो।”
झलक चार वर्षका हुँदा श्रीमान् गुमाएकी कालिमायाले त्यसयता छोराको उपचार र व्यवस्थापनका लागि विभिन्न निकाय धाइरहेकी छन्। तर, अहिलेसम्म सहानुभूति र आश्वासन बाहेक ठोस सहयोग नपाएको उनको गुनासो छ।
झलकको जीवनयापन सहज बनाउन रिसेड तनहुँले ह्विलचेयर प्रदान गरे पनि त्यो उनको अवस्थाअनुसार उपयुक्त नभएको कालिमायाको भनाइ छ। ह्विलचेयरमा चढाउन–झार्न नसकिने तथा दुर्घटनाको जोखिम रहने भएकाले प्रयोगविहीन अवस्थामा राखिएको उनले बताइन्।
उनका अनुसार झलकलाई सुरक्षित रूपमा राख्न र खेलाउनका लागि व्यवस्थित कोठा अत्यावश्यक छ। बाहिर खेल्न मिल्ने बरान्डा, भित्र सुत्ने व्यवस्था तथा शौचालयसहितको कोठा आवश्यक रहेको बताउँदै कोठा निर्माणका लागि जग्गा आफूले नै व्यवस्थापन गर्ने र सम्बन्धित निकायबाट सहयोगको अपेक्षा रहेको उनले जनाइन्।
अपाङ्गता अधिकारकर्मी ईश्वर बास्तोलाले सरोकारवाला निकायसँग समन्वय गरी झलक बी.क. का लागि सुविधा सम्पन्न कोठा निर्माणमा आवश्यक पहल गरिने बताए। यस्तै, व्यास–८ अपाङ्गता स्वावलम्बन समूहकी सचिव शोमा लम्सालले झलकलाई आवश्यकताअनुसार स्वास्थ्य सेवा उपलब्ध गराई सुरक्षित स्थानमा राख्नुपर्नेमा जोड दिइन्।


राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशकी सदस्य सङ्गीता शर्माले झलक बी.क. को अवस्थाअनुसार आवश्यक व्यवस्थापनका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरिन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page