श्रीपञ्चमीको अवसरमा ज्ञान वाटिका मन्टेश्वरीमा प्ले ग्रुप भर्ना निःशुल्क

दमौली । व्यास नगरपालिका–३ सृजना टोलमा अवस्थित ज्ञान वाटिका मन्टेश्वरी स्कुलले श्रीपञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा प्ले ग्रुप तहको भर्ना शुल्कमा शतप्रतिशत छुटको व्यवस्था गरेको छ।
सरस्वती पूजाको अवसर पारेर साना बालबालिकाको अक्षरारम्भ कार्यक्रम सहित विविध सांस्कृतिक तथा शैक्षिक गतिविधि आयोजना गर्दै विद्यार्थी भर्नामा पूर्ण छुट दिइएको विद्यालयकी सञ्चालक एवं शिक्षिका कमला पौडेलले जानकारी दिइन्।
उनका अनुसार ज्ञान वाटिकामा बालबालिकालाई खेल्दै–सिक्ने वातावरण उपलब्ध गराइएको छ। विद्यालय परिसरमा खेल्नका लागि पर्याप्त खुला स्थान, सुरक्षित र बालमैत्री शैक्षिक वातावरण रहेकोले अभिभावकहरूको रोजाइमा पर्न सफल भएको उनले बताइन्।


विद्यालयमा बालबालिकालाई प्रदान गरिने खाजा अर्गानिक हुने र प्रत्येक बच्चाको उचित स्याहार, निगरानी तथा हेरचाहका लागि पर्याप्त दक्ष स्टाफको व्यवस्था गरिएको अर्की शिक्षिका मोती मगरले बताइन्। यस कारण पनि ज्ञान वाटिका धेरै अभिभावकहरूको पहिलो प्राथमिकतामा पर्न सफल भएको उनको भनाइ छ।
मन्टेश्वरी शिक्षण पद्धतिअन्तर्गत यहाँ पढाउनेभन्दा सिकाउने विधिमा जोड दिइन्छ। बालबालिकाको बालमनोविज्ञानलाई केन्द्रमा राखी आधुनिक, प्रविधियुक्त तथा व्यवहारिक सिकाइ विधि अपनाइने गरिएको शिक्षिका मगरले बताइन्।
परम्परागत घोकन्ते शिक्षण प्रणालीको सट्टा बालबालिकाको रुचि, चाहना र क्षमता अनुसार सिकाइ गरिने हुँदा उनीहरूमा बौद्धिक, सामाजिक तथा मनोवैज्ञानिक विकासमा उल्लेखनीय सहयोग पुग्ने सञ्चालक पौडेलले बताइन्।
ज्ञान वाटिका मन्टेश्वरीका प्रिन्सिपल दिलु थापाका अनुसार विद्यालयमा बालबालिकालाई सामाजिक र व्यावहारिक मूल्य–मान्यतामा आधारित शिक्षा प्रदान गरिन्छ। “बालबालिकाले हेरेर, सुनेर, छोएर, चाखेर र सुँघेर सिक्ने वातावरण सिर्जना गरिन्छ,” उनले भनिन्, “उनीहरूको इच्छाअनुसार क्रियाकलाप गर्न समय र स्वतन्त्रता दिइन्छ।”

बालमैत्री वातावरण, गुणस्तरीय मन्टेश्वरी शिक्षा र आकर्षक छुट सुविधाका कारण हाल ज्ञान वाटिका मन्टेश्वरीप्रति अभिभावकहरूको आकर्षण बढ्दो क्रममा रहेको विद्यालय प्रशासनले जनाएको छ।


























