गुणादी फ्रेन्डसीप कप फुटबलको सेमिफाइनल आज, भोलि शनिबार फाइनल हुने
तनहुँको म्याग्दे गाउँपालिका–१, गुणादीमा जारी फ्रेन्डसीप कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल खेल आज हुने भएका छन्। आज हुने सेमिफाइनलमा आदर्श नमुना मनहरी र गुरुङ ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ भने अर्को सेमिफाइनलमा आयोजक फ्रेन्डसीप सी र टाइगर ल्याण्ड दमौली आमनेसामने हुनेछन्। प्रतियोगिताको फाइनल खेल भोलि शनिबार आयोजना गरिने आयोजकले जनाएको छ।
स्थानीय स्तरमा फुटबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ। साथै क्वाटरफाइनल चरणदेखि प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ पुरस्कारको व्यवस्था गरिएको आयोजक फ्रेन्डसीप युवा क्लबले जनाएको छ।
प्रतियोगिताको विजेता टोलीले नगद रु. १ लाख २५ हजार १ सय २५ तथा उपविजेता टोलीले नगद रु. ६५ हजार १ सय ६५ पुरस्कार प्राप्त गर्नेछ। साथै विजेता र उपविजेता टोलीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ।

फ्रेन्डसीप युवा क्लबका निवर्तमान अध्यक्ष दुर्गाराज थापा मगरले प्रतियोगिताले स्थानीय फुटबलको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।


























