नेपाल मगर संघ तनहुँको १६औँ अधिवेशनमा त्रिकोणात्मक भिडन्तकाे संकेत
नेपाल मगर संघ तनहुँको १६औँ जिल्ला अधिवेशन माघ १५ र १६ गते हुँदैछ। अधिवेशन नजिकिँदै गर्दा संघभित्र नेतृत्व चयनलाई लिएर कडा प्रतिस्पर्धा देखिन थालेको छ, जसले यसपटक सर्वसम्मतिबाट नेतृत्व चयन हुने परम्परामा प्रश्न उठाएको छ।
अध्यक्ष पदका लागि तीन बलिया दाबेदार चर्चामा छन्। व्यास नगर समितिकी निवर्तमान अध्यक्ष रिमा आले, हालकी वरिष्ठ उपाध्यक्ष मिना थापा र द्वितीय उपाध्यक्ष हर्क थापा (एचबी) बीच त्रिकोणात्मक भिडन्त हुने संकेत देखिएको छ।
संघ वृत्तमा चलेको चर्चाअनुसार रिमा आले नेपाली कांग्रेस निकट, मिना थापा जनमुक्ति पार्टी निकट तथा हर्क थापा नेपाली कम्युनिस्ट पार्टी निकट मानिन्छन्। यही कारण अधिवेशनलाई संगठनात्मकभन्दा बढी दलिय प्रभाव पर्ने प्रतिस्पर्धाका रूपमा हेरिन थालिएको छ।
नेपाल मगर संघ तनहुँको इतिहासमा वि.सं. २०६४ सालमा सम्पन्न १३औँ अधिवेशन मात्र मतदानमा गएको थियो। उक्त अधिवेशनमा सिद्धान्त थापाले यमबहादुर सारूलाई ७ मतले पराजित गरेका थिए। त्यसपछि सबै अधिवेशनहरू सर्वसम्मत हुँदै आएका थिए।
तर यसपटक सहमतिमा नेतृत्व चयन हुने सम्भावना कम देखिएको छ। हाल संघको अध्यक्ष खड्गबहादुर मगर रहेका छन्। उता कांग्रेसभित्र देखिएको आन्तरिक अवस्थाले अधिवेशनसम्म राजनीतिक समीकरण कता मोडिन्छ भन्ने विषयले पनि अर्थ राख्ने देखिन्छ।

अब प्रश्न एउटै छ —
नेपाल मगर संघ तनहुँमा फेरि मतदान हुन्छ ?
कि अन्तिम घडीमा सहमतिले सबै अड्कल गलत सावित गर्छ ?सबैको नजर माघ १५ र १६ तर्फ केन्द्रित भएको छ।


























