फ्रेन्डसीप कप फुटबलको उपाधि आदर्श नमुना क्लब मनहरीलाई

तनहुँ। माघ ३ गतेदेखि तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–१, गुणादीमा सञ्चालन भएको फ्रेन्डसीप कप खुला नकआउट सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आदर्श नमुना क्लब, मनहरीले जित्न सफल भएको छ।
शनिबार सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा आदर्श नमुना क्लबले आयोजक फ्रेन्डसीप क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। खेल अवलोकन गर्न ठूलो संख्यामा दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो।
विजेता तथा उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, गाउँपालिका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष मणिभद्र वाग्ले, कार्यपालिका सदस्य थममाया विक, फ्रेन्डसीप क्लबका कार्यवाहक अध्यक्ष केशु राना लगायतले नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।
प्रतियोगितामा प्रथम हुने टोलीले रु. १,२५,१२५ नगदसहित उपाधि हात पारेको छ भने उपविजेता टोलीले रु. ६५,१६५ नगद पुरस्कार प्राप्त गरेको छ।
व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट खेलाडीहरू पुरस्कृत
प्रतियोगितामा खेलाडीहरूको व्यक्तिगत क्षमताको कदर गर्दै विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो।
फ्रेन्डसीप क्लबका सुमन श्रेष्ठ प्रतियोगिताका सर्वाधिक गोलकर्ता घोषित भएका छन्। यस्तै, आदर्श नमुना क्लबका रतन हिताङ उत्कृष्ट गोलरक्षक घोषित भएका छन् भने सोही क्लबका दिपेश श्रेष्ठ उत्कृष्ट खेलाडी बन्न सफल भएका छन्।
त्यसैगरी, खेल अवधिभर अनुशासित प्रदर्शन गरेको आधारमा टाइगर ल्याण्ड, बागभञ्ज्याङ टोलीलाई अनुशासित टोलीको उपाधि प्रदान गरिएको थियो।
उत्कृष्ट खेलाडीलाई रु. १०,००० नगदसहित ट्रफी प्रदान गरिएको थियो भने अन्य व्यक्तिगत विधाका विजेताहरूलाई रु. ५,००० नगदसहित ट्रफी प्रदान गरिएको थियो।
फ्रेन्डसीप युवा क्लबका निवर्तमान अध्यक्ष दुर्गाराज थापा मगरले प्रतियोगिता स्थानीयस्तरमा फुटबल खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको बताएका छन्।
फ्रेन्डसीप क्लबका अध्यक्ष केशु रानाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा पूर्व डीआईजी विकासराज खनाल, वडा अध्यक्ष दिपक श्रेष्ठ, विजयराज खनाल, देवनारायण श्रेष्ठ, विश्व सुवेदी, महेन्द्र आले, भूपेन्द्र आले, मिलन आले, विनोद दत्त खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

फ्रेन्डसीप क्लबले यसअघि पनि खेलकुद तथा सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।


























