म्याग्दे–१ मा अपाङ्ग तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

म्याग्दे गाउँपालिका–१ ले लक्षित वर्ग कार्यक्रमअन्तर्गत अपाङ्ग सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वडाभित्रका करिब ४० जना अपाङ्गता भएका व्यक्तिहरूलाई जाडोयाममा ओढ्ने फाइबर सिरक तथा आवतजावत खर्च प्रदान गर्दै सम्मान गरिएको हो।
वडा अध्यक्ष मणिभद्र वाग्ले र वडा सचिव केशव पौडेलले सामाजिक सुरक्षा तथा समावेशी विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी रहेको बताए। उनीहरूका अनुसार वडाले हरेक वर्ष लक्षित वर्गलाई केन्द्रमा राख्दै सम्मान तथा सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यसअघि पनि वडा कार्यालयले ८० वर्षभन्दा माथिका ७२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिसकेको छ। सचिव पौडेलका अनुसार गत वर्ष भने नगदको सट्टा भाँडा तथा विभिन्न जिन्सी सामग्री वितरण गरिएको थियो।


वडाले अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकप्रति सम्मान, सहयोग र आत्मसम्मान अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


























