तनहुँ–१ मा स्वर्णिम वाग्ले १४ हजार मत गन्न बाँकी हुँदै विजय ! औपचारिक घोषणा हुन बाँकी
तनहुँ–१ प्रतिनिधिसभा उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्लेले जित सुनिश्चित गरेका छन्। १४ हजारभन्दा बढी मत गणना हुन बाँकी रहँदा उनले ठूलो मतान्तर बनाएका कारण उनको विजय पक्का भएको हो। यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ।
निर्वाचन कार्यालयका अनुसार हालसम्म ५३ हजार ५७८ मत गणना भएको छ। पछिल्लो परिणामअनुसार स्वर्णिम वाग्लेले ३० हजार ५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ८८७ मत पाएका छन्। यी दुईबीच १७ हजार ११३ मतान्तर रहेको छ। अब १४ हजार ५५१ मत गणना हुन बाँकी छ।
त्यसैगरी नेकपा एमालेकी भगवती न्यौपानेले ४ हजार १८ मत प्राप्त गरेकी छन्। नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकालले २ हजार १२५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ६७२, उज्यालो नेपाल पार्टीका मञ्जिल रानाले ४११ तथा श्रम संस्कृति पार्टीका काशीराम गुरुङले ८६१ मत पाएका छन्। यस क्षेत्रमा कुल १६ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए।
तनहुँ–१ मा एक लाख २६ हजार ८८२ मतदाता रहेकोमा ६८ हजार १२९ मत खसेको थियो।
अघिल्लो निर्वाचनको पृष्ठभूमि
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका थिए। पछि उनी राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र खाली भएको थियो र सोही कारण यहाँ उपनिर्वाचन भएको हो।

यसपटकको उपनिर्वाचनमा स्वर्णिम वाग्लेको स्पष्ट अग्रता देखिएसँगै तनहुँ–१ मा रास्वपाले महत्वपूर्ण राजनीतिक सफलता हासिल गरेको छ। निर्वाचन आयोगले सबै मतगणना सम्पन्न भएपछि विजयी उम्मेदवारको औपचारिक घोषणा गर्नेछ।


























