तनहुँ–२ बाट निर्वाचित इन्जिनियर श्रीराम न्यौपानेकाे ऊर्जा मन्त्री बन्ने सम्भावना कति !
तनहुँ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा वरिष्ठ इन्जिनियर श्रीराम न्यौपाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नेपाली राजनीतिक वृत्तमा अर्को नयाँ चर्चा सुरु भएको छ । के अब ऊर्जा मन्त्रालयमा प्राविधिक पृष्ठभूमिका नेता देखिनेछन्? तनहुँ १ वाट स्वर्णिम वाग्लेसँगै तनहुँबाट अर्को प्रभावशाली अनुहार संसद् प्रवेश गरेपछि कतिपय विश्लेषकहरूले न्यौपानेलाई भावी ऊर्जा मन्त्रीका रूपमा समेत हेर्न थालेका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक विश्लेषणसम्म एउटा प्रश्न उठ्न थालेको छ—नेपालको जलविद्युत् सम्भावनाले भरिएको देशमा के अब ऊर्जा मन्त्रालयमा बरिस्ठ इन्जिनियरको नेतृत्व आउन सक्छ?
तनहुँ–२ बाट विजयी भएका श्रीराम न्यौपाने लामो समय ऊर्जा, पूर्वाधार तथा प्राविधिक क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएका व्यक्ति मानिन्छन्। पेशाले इन्जिनियर रहेका न्यौपानेले देशभित्रका विभिन्न जलविद्युत् आयोजना, प्रसारण लाइन र ऊर्जा पूर्वाधार निर्माणमा काम गरेको अनुभव राख्ने बताइन्छ। यही प्राविधिक अनुभवका कारण उनी राजनीतिमा आउनुअघि नै ऊर्जा क्षेत्रका जानकार व्यक्तिको रूपमा परिचित थिए।
राजनीतिमा भने उनको प्रवेश अपेक्षाकृत नयाँ मानिन्छ। परम्परागत दलप्रति असन्तुष्टि बढ्दै गएको समयमा उनी रास्वपामा आबद्ध भएका थिए। पार्टीले प्राविधिक दक्षता भएका व्यक्तिहरूलाई राजनीतिमा ल्याउने नीति अघि सारेपछि न्यौपानेजस्ता पेशागत पृष्ठभूमिका व्यक्तिहरूलाई उम्मेदवार बनाइएको थियो। तनहुँ–२ बाट उनको उम्मेदवारी पनि त्यही रणनीतिअन्तर्गत आएको बताइन्छ।
न्यौपानेको चुनावी अभियानमा उनले बारम्बार उठाएको मुख्य मुद्दा थियो—ऊर्जा, रोजगारी र स्थानीय विकास। उनले तनहुँ २ काे क्षेत्रलाई ऊर्जा उत्पादन तथा पर्यटनको केन्द्र बनाउन सकिने सम्भावनाबारे सार्वजनिक रूपमा धारणा राख्दै आएका थिए। चुनावी सभामा उनले “नेपालको जलविद्युत् क्षमतालाई सही ढंगले प्रयोग गर्न सके देशको अर्थतन्त्र बदल्न सकिन्छ” भन्ने तर्क राखेका थिए।
रास्वपा सरकारमा पार्टीभित्र प्राविधिक दक्षता भएका बरिस्ठ नेताहरूलाई सम्बन्धित मन्त्रालयमा पठाउने रणनीति अपनाउन सक्ने सम्भावना छ। त्यस अवस्थामा ऊर्जा क्षेत्रको अनुभव भएका कारण श्रीराम न्यौपाने ऊर्जा मन्त्रीका सम्भावित अनुहारका रूपमा देखिन सक्छन्।
नेपालमा विगतका धेरै ऊर्जा मन्त्रीहरू प्राविधिकभन्दा बढी राजनीतिक पृष्ठभूमिका हुने गरेका थिए। त्यसका कारण नीति निर्माण र कार्यान्वयनबीच दूरी बढ्ने गरेको आलोचना पनि हुँदै आएको छ। यस्तो अवस्थामा प्राविधिक क्षेत्रबाट आएका सांसदलाई ऊर्जा मन्त्रालयको नेतृत्व दिने विषयले केही वृत्तमा सकारात्मक बहस पनि सुरु भएको छ।
यद्यपि अहिले नै न्यौपाने ऊर्जा मन्त्री बन्ने निष्कर्ष निकाल्न भने हतारो हुने विश्लेषकहरूको भनाइ छ।
तनहुँबाट एकैसाथ दुई फरक पृष्ठभूमिका नेता संसद् पुगेका छन्—अर्थशास्त्री डा. स्वर्णिम वाग्ले र प्राविधिक इन्जिनियर श्रीराम न्यौपाने। एकजना सम्भावित अर्थमन्त्रीका रूपमा चर्चामा छन् भने अर्का ऊर्जा मन्त्रालयका सम्भावित अनुहारका रूपमा हेरिन थालेका छन्।

यदि राजनीतिक परिस्थिति त्यस दिशातर्फ मोडियो भने तनहुँ जिल्ला केवल चुनावी नतिजाको केन्द्र मात्र नभई नेपालको आर्थिक र ऊर्जा नीतिको नेतृत्व गर्ने जिल्लाका रूपमा समेत स्थापित हुन सक्ने चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ।


























