दमौलीमा मोटरसाइकल पड्काउने आतंक : ट्राफिक नियम उल्लङ्घन बढ्दै, ट्राफिक प्रहरी भने मौन

दमौलीमा मोटरसाइकल पड्काउने आतंक : ट्राफिक नियम उल्लङ्घन बढ्दै, ट्राफिक प्रहरी भने मौन

तनहुँको दमौली बजार यतिबेला मोटरसाइकलको पड्काउने आवाजले आतंकित बन्दै गएको छ। दिनदिनै बजार क्षेत्रमा मोटरसाइकललाई जानाजानी पड्काउँदै हुइँक्याउने, तीव्र गतिमा दौडाउने र ट्राफिक नियमको खुलेआम उल्लङ्घन गर्ने घटना बढिरहेका छन्। तर यस्तो गम्भीर अवस्थाबारे ट्राफिक प्रहरी भने बेखबर जस्तै देखिएको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेका छन्। स्थानीय रमेश श्रेष्ठले पछिल्लो समय ट्राफिक प्रहरीको काम भनेको चेकिङ बस्ने जस्तो मात्रै भएको आराेप लगाए ।
बजारका मुख्य सडक र चोकहरूमा खासगरी बेलुका र रातिको समयमा केही युवाहरूले मोटरसाइकलको साइलेन्सर परिवर्तन गरी ठूलो आवाज निकाल्दै कुदाउने गरेका छन्। यसले बजार क्षेत्रमा बसोबास गर्ने नागरिक, व्यापारी तथा पैदलयात्रीलाई सास्ती मात्र होइन, दुर्घटनाको खतरा समेत बढाएको छ।
अर्का स्थानीय अनिल श्रेष्ठका अनुसार मोटरसाइकल पड्काउने, अनावश्यक रेस लगाउने, हेल्मेट नलगाउने र ट्राफिक संकेतको बेवास्ता गर्ने जस्ता गतिविधि खुलेआम भइरहँदा पनि ट्राफिक प्रहरीले कडा कारबाही गरेको देखिँदैन। “सामुन्ने यति धेरै नियम उल्लङ्घन भइरहँदा पनि प्रहरी किन मौन छ?” भन्ने प्रश्न अहिले बजारभर उठ्न थालेको छ।

व्यापारी र स्थानीय बासिन्दाले यस्ता गतिविधिले ध्वनि प्रदूषण, दुर्घटनाको जोखिम र सामाजिक असुरक्षा बढाएको बताएका छन्। उनीहरूले बजार क्षेत्रमा तत्काल कडा ट्राफिक अनुगमन, मोडिफाइड साइलेन्सर नियन्त्रण र नियम उल्लङ्घन गर्ने सवारीमाथि कडा कारबाही गर्न प्रशासनसँग माग गरेका छन्।
यदि यस्तै अवस्था जारी रहने हो भने दमौली बजारमा सवारी आतंक झन् बढ्ने र सर्वसाधारणको दैनिकी नै प्रभावित हुने चिन्ता स्थानीयले व्यक्त गरेका छन्। अब प्रश्न उठेको छ— के ट्राफिक प्रहरी सचेत भएर कडा कदम चाल्छ, कि समस्या झन् बढ्दै जान्छ?

ट्राफिक प्रहरी श्राेतले भने ट्राफिक नियम विपरीत भेटिएका सवारीसाधन लाई कानुनी कारबाहीको दायरामा ल्याउने काम भइरहेको र सवारी चेकिङ तथा ट्राफिक नियमको बारेर नियमित चेकजाँच तथा बजार अनुगमन गस्ती भइरहेको जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page