बालेनको सम्भावित क्याबिनेट: अर्थ र ऊर्जामा तनहुँका स्वर्णिम र श्रीराम !
प्रतिनिधिसभा निर्वाचनपछि दुईतिहाइ नजिकको बहुमतसहित सरकार गठनतर्फ अघि बढेपछि अब सबैभन्दा ठूलो चासोको विषय बनेको छ— सम्भावित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को क्याबिनेट कस्तो बन्छ?
पार्टीभित्र यतिखेर मन्त्री छनोट, मन्त्रालय पुनर्संरचना र “डेलिभरी दिन सक्ने” टिम निर्माणबारे तीव्र छलफल चलिरहेको छ। स्रोतहरूका अनुसार बालेनले सकेसम्म विषय विज्ञता, युवा ऊर्जा र काम गर्न सक्ने टिम स्पिरिटलाई प्राथमिकता दिने तयारी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी घोषणापत्रमै संघीय मन्त्रालयको संख्या घटाउने प्रतिबद्धता जनाएको थियो। अहिले प्रधानमन्त्री कार्यालयसहित रहेका २२ मन्त्रालयलाई घटाएर करिब १८ मा ल्याउने तथा मन्त्री संख्या करिब १५ हाराहारीमा राख्ने गरी प्रारम्भिक छलफल भइरहेको नेताहरू बताउँछन्।

नयाँ सरकारको सबैभन्दा महत्वपूर्ण मन्त्रालयमध्ये अर्थ मन्त्रालयका लागि सबैभन्दा बलियो नाम हो— डाक्टर स्वर्णिम वाग्ले।
अर्थशास्त्री तथा पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका हुन्। पार्टी सभापति रवि लामिछाने ले यसअघि सार्वजनिक कार्यक्रममा नै वाग्लेलाई “अर्को वर्षको बजेट लेख्न सुरु गर्नुस्” भन्दै संकेत गरेका थिए।
त्यसैले रास्वपा सरकारमा अर्थ मन्त्रालय तनहुँकै प्रतिनिधि वाग्लेलाई दिने सम्भावना बलियो मानिएको छ।
यद्यपि पार्टीभित्र सुशान्त वैदिक (प्युठान), जो लन्डन स्कुल अफ इकोनोमिक्स (LSE) बाट अध्ययन गरेका सांसद हुन्, उनको नाम पनि वैकल्पिक रूपमा चर्चामा छ।
तर पार्टी नेतृत्वबीचको संकेत र आर्थिक नीति निर्माणमा वाग्लेको अनुभवका कारण अन्ततः अर्थ मन्त्रालय उनैको जिम्मामा जाने सम्भावना बढी देखिएको विश्लेषण भइरहेको छ।

नयाँ सरकारको अर्को महत्वपूर्ण मन्त्रालय ऊर्जा, जलस्रोत तथा सिँचाइमा पनि प्राविधिक पृष्ठभूमि भएका व्यक्तिलाई ल्याउनेबारे छलफल भइरहेको बताइन्छ।
यस क्रममा तनहुँ–२ बाट निर्वाचित वरिष्ठ इन्जिनियर श्रीराम न्यौपाने को नाम बलियो रूपमा उठेको स्रोतहरू बताउँछन्।
इन्जिनियरिङ क्षेत्रमा लामो अनुभव र ऊर्जा–पूर्वाधारसम्बन्धी प्राविधिक समझ भएका कारण न्यौपानेलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिन सकिने चर्चा छ।
यदि यस्तो भयो भने अर्थ र ऊर्जा जस्ता रणनीतिक मन्त्रालय तनहुँ जिल्लाका दुई सांसदको हातमा जाने रोचक राजनीतिक समीकरण बन्नेछ।
ऊर्जा क्षेत्रमा बाहिरबाट विज्ञ ल्याउने विकल्पका रूपमा कुलमान घिसिङ को नाम पनि छलफलमा आएको थियो। तर संवैधानिक व्यवस्थाअनुसार गैरसांसद मन्त्री ६ महिनाभन्दा बढी पदमा बस्न नपाउने भएकाले त्यो विकल्प तत्काल व्यावहारिक देखिँदैन। पार्टीमा अन्य धेरै ईन्जिनियर सांसद भए पनि न्याैपाने बरिस्ठ र अनुभवी छन् ।
सरकारको अर्को शक्तिशाली मन्त्रालय गृहका लागि दुई नाम चर्चामा छन्।
पहिलो नाम हो— डोलप्रसाद (डीपी) अर्याल।
पार्टी सभापति रवि लामिछाने निकट मानिने अर्याल यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भइसकेका छन्।
दोस्रो नाम हो— इन्जिनियर सुरेन्द्र लम्साल।
काठमाडौं महानगरपालिकामा बालेन शाहसँग नजिक रहेर काम गरेका लम्साललाई उनले विश्वासपात्रका रूपमा लिने नेताहरू बताउँछन्।
यदि गृह मन्त्रालय अर्यालले पाए भने लम्साललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दिने विकल्पमा पनि छलफल भइरहेको छ।
परराष्ट्र मन्त्रालयका लागि शिशिर खनाल को नाममा पार्टीभित्र करिब सहमति बनेको बताइन्छ।
त्यस्तै काठमाडौँ–५ बाट निर्वाचित सस्मित लाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसहित सरकारका प्रवक्ताको जिम्मेवारी दिने विकल्पमा पनि छलफल भइरहेको छ।
स्वास्थ्य मन्त्रालयका लागि डाक्टर सांसदहरू डाक्टर तोसिमा कार्की लगायतको नाम चर्चामा छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय भने चितवन–३ बाट निर्वाचित सोविता गौतम लाई दिने सम्भावना रहेको नेताहरू बताउँछन्।
युवा आन्दोलनबाट आएका सुदन गुरुङ लाई युवा तथा खेलकुद मन्त्रालय दिने चर्चा छ।
यसअघि युवा तथा खेलकुद मन्त्री रहिसकेका विराज भक्त श्रेष्ठ लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयतर्फ सार्ने सम्भावना देखिएको छ।
काठमाडौं महानगरमा बालेन शाहसँग काम गरेका केही विज्ञ अहिले सांसद निर्वाचित भएका छन्।
मेयरका आईटी सल्लाहकार आसिम शाह समानुपातिकबाट संसद पुग्ने सम्भावना बलियो भएकाले उनलाई सामान्य प्रशासन वा सूचना प्रविधिसम्बन्धी मन्त्रालयको जिम्मेवारी दिन सकिने चर्चा छ।
राजनीतिक वृत्तमा अर्को रोचक चर्चा पनि छ।
धरानका सांसद हर्कराज राई (हर्क साम्पाङ) लाई समेत सरकारमा ल्याउने प्रस्ताव गर्न सकिने सम्भावना बालेन निकट स्रोतहरूले बताइरहेका छन्।
धरानमा उनले देखाएको श्रम संस्कृति र विकास मोडेलबाट बालेन प्रभावित रहेको बताइन्छ।
रास्वपाभित्र अहिले विभिन्न नामहरू बलिया दाबेदारका रूपमा चर्चामा रहे पनि क्याबिनेट गठन अन्ततः प्रधानमन्त्रीको निर्णयमा निर्भर रहनेछ। त्यसैले शपथ ग्रहण नभएसम्म को मन्त्री बन्छ र कसले कुन मन्त्रालय सम्हाल्छ भन्ने अन्तिम निर्णय परिवर्तन हुन सक्ने नेताहरू बताउँछन्।
तर समग्रमा हेर्दा बालेनको सम्भावित क्याबिनेटमा विज्ञता, युवा नेतृत्व, प्राविधिक क्षमता र नयाँ राजनीतिक शैलीलाई प्राथमिकता दिने प्रयास भइरहेको स्पष्ट संकेत देखिएको छ।

























