तनहुँमा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ३ जना घाइते
तनहुँको भिमाद नगरपालिका–९ अस्पाक्दीस्थित रिठ्ठाभञ्ज्याङ–सेराबेंशी मोटर मार्गमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार फागुन ३० गते साँझ करिब ६:३० बजे बुचाखानीबाट निर्माण सामग्री लोड गरी ठकुरीथरतर्फ जाँदै गरेको लु ३ त ३०२६ नम्बरको ट्याक्टर चालकले नियन्त्रण गुमाउँदा सडकको दाहिने साइडको नालीमा पल्टिएको थियो।
दुर्घटनामा ट्याक्टरमा सवार कपिलवस्तु शिवराज नगरपालिका–१ चैनपुर घर भएका ४५ वर्षीय माईला भन्ने लड्डु थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई साँझ ६:५६ बजे उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा ट्याक्टर चालक तनहुँ म्याग्दे गाउँपालिका–५ थाङपाटनका ३२ वर्षीय अनिल कुमाल बायाँ कोखामा चोट लागेर घाइते भएका छन्। त्यस्तै कपिलवस्तु सहजनेपाल–५ का ५० वर्षीय नारायण पुनको टाउको, बायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ भने तनहुँ भिमाद–९ भानखोलाका ५१ वर्षीय दुर्गा बहादुर पुन सामान्य घाइते भएका छन्।
चालक कुमाल र नारायण पुनलाई प्रारम्भिक उपचारपछि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा रिफर गरिएको थियो भने दुर्गा बहादुर पुनको स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये नारायण पुन र दुर्गा बहादुर पुन उपचारपछि डिस्चार्ज भइसकेका छन्। ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँले नियन्त्रणमा राखेको छ।

यसैबीच मृतक थारुको शव पोस्टमार्टमपछि उनका छोरा यामलाल थारुले आइतबार दिउँसो करिब ३:३० बजे बुझी अन्त्येष्टिका लागि लगेको प्रहरीले जनाएको छ।


























