देवघाट–३ मा उच्च जोखिम समूहमा क्षयरोग जाँच, १२ जना शंकास्पद बिरामी पहिचान
तनहुँ, चैत ११ — विश्व क्षयरोग दिवस (मार्च २४, २०२६) को अवसरमा देवघाट गाउँपालिका–३, दगारा क्षेत्रमा क्षयरोग सम्बन्धी महत्वपूर्ण स्वास्थ्य कार्यक्रम सम्पन्न गरिएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँ, संयुक्त राष्ट्र विकास कार्यक्रम–जन्त्र (यूएनडीपी–जन्त्र) तनहुँ तथा छिपछिपे स्वास्थ्य चौकीको संयुक्त सहकार्यमा समुदायमा रहेका सम्भावित क्षयरोग बिरामीहरूको पहिचान गर्ने उद्देश्यले “उच्च जोखिममा रहेका व्यक्तिहरूको क्षयरोग जाँच” कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहरूको टोलीले समुदायमै पुगेर सक्रिय रूपमा जाँच गर्दा १२ जना उच्च शंकास्पद बिरामीहरू पहिचान गरिएको छ। पहिचान गरिएका बिरामीहरूलाई थप परीक्षणका लागि दमौली अस्पताल पठाइएको जनाइएको छ। उनीहरूको थुक परीक्षण (जीन एक्सपर्ट विधि) गरिनेछ।

कार्यक्रममार्फत क्षयरोगको समयमै पहिचान र नियन्त्रणमा टेवा पुग्ने विश्वास लिइएको छ। सरोकारवालाहरूले क्षयरोगको अन्त्यका लागि सबै नागरिकलाई सचेत रहन, लक्षण देखिएमा तुरुन्त स्वास्थ्य जाँच गराउन र उपचार पूरा गर्न आग्रह गरेका छन्।




























