तनहुँका क्रसर उद्योगमाथि प्रशासनको अनुगमन

तनहुँका क्रसर उद्योगमाथि प्रशासनको अनुगमन


तनहुँ, — जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगहरूको अनुगमनलाइ प्रशासनले तीव्र बनाएको छ। पछिल्लो समय वातावरणीय मापदण्ड उल्लंघन, राजश्व चुहावट तथा सञ्चालन प्रक्रियासम्बन्धी गुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयसहित सम्बन्धित निकायले संयुक्त रूपमा स्थलगत निरीक्षण सुरु गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जिल्लाभर रहेका क्रसर उद्योगहरूको चरणबद्ध अनुगमन थालिएको जानकारी दिए। उनका अनुसार हालसम्म चार वटा उद्योगमा स्थलगत निरीक्षण सम्पन्न भइसकेको छ। अनुगमन टोली बेलबासस्थित एक क्रसर, झापुटार क्षेत्रको क्रसर, बेलबासकै अर्को उद्योग, सत्रसयको क्रसर तथा आँबुखैरेनी क्षेत्रमा सञ्चालित एक उद्योगमा पुगेको थियो।
अनुगमनका क्रममा केही उद्योगबाट आवश्यक कागजात नियन्त्रणमा लिइएको प्रशासनले जनाएको छ। बाँकी कागजातसहित सम्बन्धित उद्योगलाई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ। क्रसर उद्योगहरूले दर्ता, आन्तरिक राजश्व, वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) लगायतका आवश्यक कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने प्रशासनको भनाइ छ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजश्व कार्यालय तथा जिल्ला समन्वय समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रारम्भिक अनुगमनपछि अन्य उद्योगहरूमा पनि क्रमशः निगरानी बढाइने प्रशासनले जनाएको छ।
प्रशासनले उजुरीका आधारमा मात्र नभई नियमित रूपमा समेत अनुगमनलाई निरन्तरता दिने स्पष्ट पारेको छ। मापदण्ड विपरीत सञ्चालन हुने उद्योगमाथि आवश्यक कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

जिल्लामा झण्डै तीन दर्जन क्रसर उद्योग सञ्चालनमा रहेको अनुमान छ। तीमध्ये अधिकांशले आवश्यक मापदण्ड पूरा नगरी सञ्चालन भइरहेको सरोकारवालाको गुनासो छ। लामो समयदेखि अवैध रूपमा सञ्चालित उद्योगमाथि प्रभावकारी अनुगमन र नियमन नहुँदा समस्या जटिल बन्दै गएको देखिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page