दमौलीमा जारी टाइगर ल्याण्ड महोत्सवमा आज पुरुषोत्तम न्यौपाने र कुलेन्द्र लगायतको प्रस्तुति रहने
दमौली, तनहुँ — दमौलीमा जारी “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष दमौली महोत्सव–२०८२/०८३” अन्तर्गत आज गायक पुरुषोत्तम न्यौपाने, कुलेन्द्र विश्वकर्मा लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहने भएको छ। व्यास नगरपालिका–४ सिमलटार–बागभञ्ज्याङ क्षेत्रमा सञ्चालन भइरहेको महोत्सवमा आज चर्चित कलाकारहरूको उपस्थितिले कार्यक्रम थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार आज पुरुषोत्तम न्यौपाने, कुलेन्द्र विश्वकर्मासहित ईश्वर परियार, जस्मिता गुरुङ, विश्व बुढा तथा सर्जन थापाको प्रस्तुति रहनेछ। साथै नयाँ वर्ष विशेष नृत्य प्रस्तुतिहरू पनि समावेश गरिनेछन्, जसले दर्शकलाई दिनभर मनोरञ्जन प्रदान गर्ने क्लबका अध्यक्ष विपिन घलेले जानकारी दिए।
यसअघि सोमबार भएको कार्यक्रममा गायक अनुराग थापा लगायत विश्वकुमार बुढा, सूर्यप्रसाद छिमाल तथा गायिका अञ्जना गुरुङ र सावित्रा हड्खलेको प्रस्तुति दर्शकका लागि आकर्षणको केन्द्र बनेको थियो। कलाकारहरूको प्रस्तुति हेर्न पछिल्ला दिनहरूमा उल्लेख्य संख्यामा दर्शक सहभागी हुँदै आएका छन्।

महोत्सव जारी रहँदा हरेक दिन फरक–फरक सांगीतिक प्रस्तुति तथा सांस्कृतिक कार्यक्रम समेटिँदै आएका छन्, जसले दमौली क्षेत्रको माहोल उत्सवमय बनाएको छ।
आयोजकले आजको कार्यक्रममा अझ बढी दर्शक सहभागिता हुने अपेक्षा गरेको छ।


























