लमजुङ युवा सुरेश गिरीले गराए पेट्रोलियम मूल्यवृद्धि र शिक्षा शुल्क वृद्धि प्रति सरकारको ध्यानाकर्षण
भन्छन् – म लमजुङकाे एक सचेत युवा नागरिकको हैसियतले यो पत्रमार्फत तपाईंको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। हालै गठन भएको दुईतिहाइ नजिककाे बहुमत प्राप्त सरकारले जनताको ठूलो विश्वास जितेको छ। तर, पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्य वृद्धिले सर्वसाधारणको दैनिक जीवनमा गहिरो असर पारेको छ।
आजको अवस्थामा शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत क्षेत्रहरूमा पनि समान पहुँच र व्यवहारको अभाव देखिएको छ। विशेषगरी स्थानीय तहबाट बोर्डिङ विद्यालयहरूको शुल्क मनोमानी रूपमा वृद्धि भइरहेको गुनासो व्यापक छ, जसले आम नागरिकलाई थप आर्थिक भार परेको छ।
सबैभन्दा बढी असर निम्न आय भएका वर्गमा परेको छ, जसको दैनिक जीवन अझै कठिन बन्दै गएको छ। यस्तो अवस्थामा सरकारको जिम्मेवारी केवल नीति निर्माणमा सीमित नभई, त्यसको प्रभावकारी कार्यान्वयनमा पनि देखिनुपर्छ।

यदि जनताको अपेक्षा र आवश्यकता अनुसार काम हुन सकेन भने, नयाँ सरकारप्रतिको आशा पनि पुराना अनुभवजस्तै निराशामा परिणत हुन सक्छ। त्यसैले, पेट्रोलियम मूल्य वृद्धिको विकल्प खोज्दै समावेशी नीति अवलम्बन गर्न र जनतासँग प्रत्यक्ष संवाद बढाउन म सरकारसँग हार्दिक अनुरोध गर्दछु।
धन्यवाद।
— सुरेश गिरि, लमजुङ


























