तनहुँ कांग्रेसको बिस्तारित बैठक सम्पन्न, एकतामा जोड

तनहुँ कांग्रेसको बिस्तारित बैठक सम्पन्न, एकतामा जोड


नेपाली कांग्रेस तनहुँको बिस्तारित बैठक शनिबार दमौलीमा सम्पन्न भएको छ। पार्टीलाई सुदृढ, एकताबद्ध र सक्रिय बनाउने मुख्य उद्देश्यसहित आयोजना गरिएको बैठकमा जिल्लाभरिका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।
नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै पूर्व केन्द्रीय सदस्यहरू शंकर भण्डारी, गोविन्द भट्टराई, पूर्व सभापति रघुनाथ पौडेल, जिल्ला कार्यसमितिका पदाधिकारी, क्षेत्रीय सभापतिहरू तथा विभिन्न तहका नेता–कार्यकर्ताहरूले बैठकमा आ–आफ्ना धारणा राखेका थिए।
बैठकलाई सम्बोधन गर्दै महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसलाई बलियो र जीवन्त बनाउन आन्तरिक एकता अपरिहार्य रहेको बताए। उनले पार्टीभित्र देखिने मतभेदलाई संवाद र सहकार्यमार्फत समाधान गर्दै संगठनलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। वर्तमान कार्यसमिति पार्टीलाई एक ढिक्का बनाउने दिशामा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले योगदान गरेका अग्रज नेताहरूको सम्मान र मूल्यांकन गर्नुपर्ने धारणा राखे।
महामन्त्री पौडेलले पार्टीले सञ्चालन गरिरहेको ‘जरा अभियान’लाई गाउँ–गाउँसम्म पुर्‍याएर कार्यकर्तासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले अभियानमार्फत संगठन सुदृढीकरण, जनविश्वास अभिवृद्धि र आगामी राजनीतिक यात्राका लागि आधार तयार गर्न सकिने बताए।
पूर्व केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीको एकता कायम गर्न नेतृत्व तहले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले पार्टीभित्रको गुटबन्दी र आन्तरिक खिचातानीले संगठनलाई कमजोर बनाउने भएकाले सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। “पार्टी एक भएर अगाडि बढेन भने कसैको पनि भविष्य सुरक्षित रहँदैन,” उनले चेतावनी दिए।
त्यस्तै, पूर्व केन्द्रीय सदस्य गोविन्द भट्टराईले नेपाली कांग्रेसलाई एक ढिक्का बनाउँदै जनतामाझ विश्वासिलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताए। उनले संगठनलाई सक्रिय, अनुशासित र जनमुखी बनाउन सबै तहका नेता–कार्यकर्ताले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए।
बैठकमा अन्य वक्ताहरूले पनि पार्टी सुदृढीकरण, संगठन विस्तार, कार्यकर्ता व्यवस्थापन तथा आगामी निर्वाचनका रणनीतिका विषयमा सुझाव दिएका थिए। विशेषगरी हालैका निर्वाचन परिणामको समीक्षा गर्दै कमजोरीहरू सुधार गर्ने र भविष्यका लागि स्पष्ट कार्ययोजना बनाउने विषयमा गहन छलफल भएको थियो।

बैठकले पार्टीलाई एकतावद्ध, अनुशासित र सक्रिय बनाउँदै जनताको विश्वास जित्ने दिशामा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, ‘जरा अभियान’लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, कार्यकर्तालाई सक्रिय बनाउने र संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने निर्णयसमेत गरिएको जनाइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page