प्रवेशद्वार निर्माणमा वडा अवरोध : खर्च भइसकेपछि काम रोकिँदा प्रतिष्ठान आक्रोशित
तनहुँ — तनहुँको ऋषिङ गाउँपालिकामा स्वर्गीय झुलबहादुर आलेको स्मृतिमा स्थापना गरिएको स्व. झुलबहादुर आले स्मृति प्रतिष्ठानद्वारा निर्माण गर्न लागिएको प्रवेशद्वार तथा अन्य संरचना एकाएक रोकिँदा विवाद उत्पन्न भएको छ। आवश्यक प्रक्रिया पूरा गरी निर्माण कार्य अगाडि बढाउने तयारी भइरहेका बेला सम्बन्धित वडाले हस्तक्षेप गर्दै काम रोक लगाएपछि अन्योल सिर्जना भएको हो।
प्रतिष्ठानका अध्यक्ष कमलबहादुर आलेका अनुसार वडाकार्यालय, गाउँपालिका, टोल विकास संस्था, पूजा समिति तथा पुरातात्त्विक विभागबाट समेत स्वीकृति र सिफारिस लिएर काम अघि बढाइएको थियो। “सबै प्रक्रिया पूरा गरेर सामग्रीसमेत साइटमा झारिसकेपछि एक्कासी वडा कार्यालयले काम रोक्नु दुःखद छ,” उनले भने।
उनका अनुसार निर्माणका लागि आवश्यक रड, ढुंगा, बालुवा, सिमेन्टलगायतका सामग्री स्थलमै झारिसकिएको छ भने प्रारम्भिक चरणमै उल्लेख्य खर्च भइसकेको छ। काम रोकिँदा सिमेन्ट डल्ला परेर प्रयोगयोग्य नहुने अवस्थामा पुगेको र आर्थिक नोक्सानी बढेको उनले गुनासो गरे।
अध्यक्ष आलेले सुरुमै अस्वीकृत भए आफूहरूले काम अघि नबढाउने तर पहिला स्वीकृति दिएर पछि रोक लगाउनु उचित नभएको बताए। साथै, पूर्व सहमति भएको स्थानभन्दा फरक ठाउँमा प्रवेशद्वार बनाउन निर्देशन दिँदा आफूहरू काम अगाडि बढाउन नसकेको उनको भनाइ छ।

प्रतिष्ठानले भुरे राजाको मूर्ति तथा ऐतिहासिक अस्तित्व जोगाउने उद्देश्यले दुर्गा भवानी मन्दिर, कोट परिसरमा संरचना निर्माण गर्न लागेको जनाएको छ। तर, वडाबाट अपेक्षित सहयोग नपाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। “वडाले बजेट छुट्याएको छ भन्छ, तर न आफैं काम गर्छ, न हामीलाई गर्न दिन्छ,” उनले आरोप लगाए।
उता स्थानीयवासीहरूले भने योजना पुनः सञ्चालनका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताएका छन्। योजना कार्यान्वयन भएमा क्षेत्रको सौन्दर्य अभिवृद्धि हुनुका साथै स्थानीय पहिचान मजबुत हुने अपेक्षा गरिएको छ।


























