माफी माग्दा पनि जुटेन सहमति : ‘भाइरल चटपटे’ प्रकरण थप पेचिलो, दिनभर छलफलमा पनि निष्कर्ष शून्य
दमौली । व्यास नगरपालिका–३ अनसन चौतारी नजिक ‘भाइरल चटपटे’ सञ्चालन गर्दै आएका अशोक डौलिया विरुद्ध लागेको जातीय विभेद आरोपको विषय थप जटिल बन्दै गएको छ। आरोप सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि स्थानीय तहसम्म चर्को बहस भइरहेको यो घटनामा सञ्चालक डौलियाले सार्वजनिक रूपमा माफी मागे पनि सहमति जुट्न सकेको छैन।
आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ परिसरमा बसेको छलफलमा डौलियाले आफ्नो उद्देश्य कसैलाई होच्याउने नभएको स्पष्ट पार्दै, “बोल्ने क्रममा केही गल्ती भएको भन्दै माफी मागे ।” उनलेे सार्वजनिक रूपमै क्षमायाचना गरेका थिए। छलफलमा सहभागी केही दलित अभियन्ताले गल्ती स्वीकार गरी माफी मागिसकेकाले अब विषयलाई मिलाएर टुंग्याउन सकिने धारणा राखेका थिए।
तर सोही क्रममा उपस्थित केही पक्षले घटनालाई कानुनी प्रक्रियामा लैजानुपर्ने अडान लिँदै पीडित युवतीको नाममा जाहेरी लेखाएर मुद्दा अघि बढाउने तयारीसमेत भएको बताए । स्रोतका अनुसार केहीले “अब मुद्दा लड्ने काम हाम्रो” भन्दै जाहेरी लेख्न युवतीलाई उक्साएको आरोपसमेत लागेको छ।

यद्यपि सम्बन्धित युवतीले भने डौलियाले सार्वजनिक रूपमा तथा टिकटकमार्फत समेत माफी मागेमा आफूलाई स्वीकार्य हुने बताएकी थिइन्। तर सबै पक्षको धारणा एक नहुँदा सहमति बन्न सकेन।
यस घटनापछि सामाजिक सञ्जालमा दलित अभियन्तामाथि समेत टिप्पणी र आलोचना बढेको छ। माफी मागिसक्दा पनि विषयलाई अनावश्यक रूपमा लम्ब्याइएको भन्दै केहीले असन्तुष्टि जनाइरहेका छन् भने अर्का पक्षले जातीय विभेदजस्तो संवेदनशील विषयमा कानुनी प्रक्रिया आवश्यक रहेको तर्क गरिरहेका छन्।
सोमबार घनिभूत छलफल हुन नसकेपछि मंगलबार बिहानैदेखि पुनः सहमति प्रयास सुरु गरिएको थियो। बिहान व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेको कार्यकक्षमा छलफल भए पनि त्यहाँ समेत निष्कर्ष ननिस्किएको सहभागीहरूले बताएका छन्। केहीले “मेयरको कार्यकक्षमा किन यस्तो छलफल?” भन्दै प्रश्नसमेत उठाएका थिए।
त्यसपछि दिउँसो सुनचाँदी व्यवसायी संघको कार्यालयमा पुनः छलफल भए पनि दिनभर विभिन्न स्थानमा दौडधुप र बैठक चल्दा पनि सहमति जुट्न सकेन। यसबीच केही व्यक्तिले मिलापत्र हुन नदिने गरी उक्साउने र विषयलाई थप गिजोल्ने काम गरेको आरोप दुवै पक्षबाट सुनिन थालेको छ।
घटनाले अहिले समाजलाई दुई धारमा विभाजित गरेको देखिन्छ। एकातर्फ माफी र आत्मस्वीकारोक्तिलाई प्राथमिकता दिएर विषय मिलाउनुपर्ने मत छ भने अर्कोतर्फ कानुनी कारबाहीमार्फत नजिर स्थापित गर्नुपर्ने आवाज बलियो बनेको छ।

यसअघि अशोक डौलियाले आफूले कहिल्यै जातीय विभेद नगरेको दाबी गर्दै आएका थिए । उनले आफ्नो चटपटे पसलमा दलित समुदायका व्यक्तिहरूलाई लामो समयदेखि रोजगारी दिँदै आएको बताउँदै हाल बन्दीपुरकी सविना नेपाली एक वर्षदेखि स्टाफका रूपमा कार्यरत रहेको जानकारी दिएका छन्। यसअघि पनि शक्ति गैरे, निर्मल परियार, प्रकाश परियार, माया परियार र सूचना परियारलगायतलाई रोजगारी दिएको उनको भनाइ छ।
पीडित पक्षले भने चटपटे र पानीपुरी नमिठो लागेको प्रतिक्रिया दिएपछि आफूहरूलाई जातीय रूपमा होच्याउने शैलीमा टिप्पणी गरिएको आरोप लगाएका छन्। उनीहरूले सञ्चालकले “दमै, कामी र सार्कीमध्ये एक” भन्दै अपमानजनक अभिव्यक्ति दिएको दाबी गर्दै नेपालको संविधान तथा जातीय छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ अनुसार कारबाहीको माग गरेका थिए ।
घटनापछि ‘भाइरल चटपटे’ पसल हाल बन्द अवस्थामा छ। सामाजिक सञ्जालमा चर्चित डौलिया ग्राहकसँग “कताबाट आउनुभयो प्रभु?” भन्ने शैलीका भिडियोका कारण लोकप्रिय थिए। तर अहिले उनीमाथिको आरोप र त्यसपछिको विवादले व्यवसायसमेत ठप्प बनेको छ।
माफीपछि पनि सहमति नजुट्दा यो प्रकरण अब मिलापत्रतर्फ जान्छ वा कानुनी प्रक्रियामा अघि बढ्छ भन्ने चासो बढेको छ।
यससम्बन्धमा सामाजिक अगुवा विश्व बुढा परियार सँग सम्पर्क गर्दा सबै बिषय सकारात्मक रहेको र आज केही प्राविधिक कारणले लम्बिएको तथा भाेली यस बिषय टुंगिने जानकारी दिए ।

























