बालविवाह अन्त्यका लागि प्रतिबद्धता–पत्र सार्वजनिक, सरोकारवालाले शून्य सहनशीलताको नीति कार्यान्वयन गर्ने प्रतिबद्धता
दमौली — बालअधिकारको संरक्षण, संवर्द्धन तथा बालमैत्री समाज निर्माण गर्ने उद्देश्यसहित बालविवाह अन्त्य अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता–पत्र दमौलीमा सार्वजनिक गरिएको छ। सरोकारवाला निकायहरूको संयुक्त सहकार्यमा आयोजित कार्यक्रममा बालविवाह न्यूनीकरणदेखि दीर्घकालीन रूपमा अन्त्य गर्ने विषयमा विस्तृत छलफल गर्दै साझा प्रतिबद्धता जनाइएको हो।
बाल तथा युवा सरोकार नेपालको आयोजनामा नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय तथा जस्ट राइट्स फर चिल्ड्रेन (JRCN) को आर्थिक सहयोग र सुर्योदय क्लबसँगको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले बालविवाह अझै पनि विभिन्न सामाजिक, आर्थिक तथा सांस्कृतिक कारणले चुनौतीको रूपमा रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
छलफलका क्रममा विद्यमान कानुनी व्यवस्था, राष्ट्रिय बाल रणनीति तथा बालविवाह अन्त्यका लागि तयार गरिएको कार्ययोजना–२०७२ को प्रभावकारी कार्यान्वयनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने निष्कर्ष निकालिएको थियो। सहभागीहरूले नीति मात्र नभई व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेका थिए।
प्रतिबद्धता–पत्रमार्फत स्थानीय तहहरूले बालविवाह अन्त्यलाई शून्य सहनशीलताको नीति अनुसार कार्यान्वयन गर्ने, बालिका तथा किशोरीहरूको सशक्तीकरणमा विशेष कार्यक्रम सञ्चालन गर्ने तथा बालअधिकारसम्बन्धी कानुनहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी बालमैत्री स्थानीय शासनलाई संस्थागत गर्ने, पोषणमैत्री, युवामैत्री, वातावरणमैत्री तथा लैंगिकमैत्री अभियानलाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाइएको छ। साथै बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार तथा अनलाइन शोषणविरुद्ध कडा कानुनी कारबाही अघि बढाउने विषयमा पनि सहमति भएको छ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु), भानु नगरपालिकाका उपप्रमुख, देवघाट गापा उपाध्यक्ष , ऋषिङ गापा उपाध्यक्ष , बन्दीपुर गापा उपाध्यक्ष , प्रहरी निरीक्षक अमृत लामिछाने लगायतका सरोकारवालाको उपस्थिति रहेको थियो।
त्यस्तै विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा बालबालिका र किशोरी समूहले पनि सक्रिय सहभागिता जनाएका थिए। उनीहरूले समुदायस्तरमै सचेतना विस्तार गर्दै बालविवाह रोकथाममा निरन्तर अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
सहभागीहरूले आफ्नो–आफ्नो क्षेत्रबाट कार्यक्रम कार्यान्वयन गर्दै बालविवाहमुक्त समाज निर्माणमा योगदान दिने र सरोकारवालाबीच समन्वय थप मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा सुर्योदय क्लबका कार्यक्रम व्यवस्थापक बिरेन्द्र थापा, आयोजक संस्थाका अध्यक्ष तिलत्तम पौडेल, रूमटुरिडका वरिष्ठ फिल्ड कार्यक्रम व्यवस्थापक खड्गबहादुर कुवर, मायादेवी राना, पत्रकार महासंघ अध्यक्ष डी.पी. अधिकारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रस्तुतिकरण प्रदेश संयोजक बद्री प्रसाद वाग्लेले गरेका थिए ।


























