शुक्ला माध्यमिक विद्यालय, ऋषिङ–१ झापुटारमा अभिभावक भेला तथा सम्मान कार्यक्रम सम्पन्न

तनहुँ, २०८३ जेठ ०४— शुक्ला माध्यमिक विद्यालय, ऋषिङ गाउँपालिका–१ झापुटारको २०८२ सालको SEE उत्तीर्ण विद्यार्थी सम्मान, पुरस्कार वितरण, नवआगन्तुक विद्यार्थी स्वागत तथा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूको अभिभावक भेला आइतबार भव्य रूपमा सम्पन्न भएको छ।
ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशा नेपालीको अध्यक्षतामा सम्पन्न भएको हाे । उक्त कार्यक्रममा विद्यालयको शैक्षिक उपलब्धि, विद्यार्थी प्रगति तथा आगामी शैक्षिक योजनाबारे छलफल गरिएको थियो।
कार्यक्रमका ऋषिङ गाउँपालिका उपाध्यक्ष गिनु माया थापा, वडा नं. १ का वडा अध्यक्ष कुश बहादुर थापा, कार्यपालिका सदस्य सविना राना, वडा सदस्य धन बहादुर आले, पूर्व वडा अध्यक्ष श्री बहादुर आले, साथै समाजसेवीहरू भुपाल थापा र पदम बहादुर थापा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा SEE उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिनुका साथै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो। त्यस्तै, नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै विद्यालयमा गुणस्तरीय शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

अभिभावक भेला मार्फत अभिभावकहरू र विद्यालय बीचको समन्वयलाई अझ मजबुत बनाउने, विद्यार्थीहरूको अध्ययन वातावरण सुधार गर्ने तथा विद्यालयको समग्र विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले विद्यालयको शैक्षिक प्रगति प्रशंसनीय रहेको उल्लेख गर्दै निरन्तर सुधार र गुणस्तरीय शिक्षाका लागि सबैको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।


























